नेपालगञ्ज, १७ असार । नेपाल प्रेस युनियनले देशभरिकै नेपाल पत्रकार महासंघका केन्द्रीय, प्रदेश र शाखा कार्यालयमा आज एकैसमयमा धर्ना दिएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले शाखा र प्रदेशले सिफारिस गरेका सदस्यहरुको नामावली हटाएर चोर बाटोबाट गैरसदस्यहरु थप गरी मतदाता नामावली सार्वजनिक गरेको विरोधमा महासंघको कार्यालयमा धर्ना दिइएको हो ।
नेपाल प्रेस युनियनको केन्द्रीय कार्यसमितिको सर्कुलर अनुसार युनियनको बाँके शाखाले पनि नेपालगञ्जस्थित नेपाल पत्रकार महासंघको कार्यालयमा आज बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा धर्ना दिइएको युनियनका बाँके जिल्ला अध्यक्ष प्रियास्मृति ढकालले बताउनुभयो ।
धर्नामा अध्यक्ष ढकाल, लुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी, महासचिव नवीन गिरी, प्रदेश सचिवालय सदस्य गौरव गिरी, युनियनका अग्रज नेताहरु नीरज गौतम, राकेश मिश्र, निवर्तमान अध्यक्ष अर्जुन ओलीलगायतको सहभागिता रहेको थियो ।