कोहलपुर (बाँके), २ असार । बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा रोयल नेपालगञ्ज फुटबल क्लब र न्यु डाँफे स्पोर्टस क्लबले जित निकालेका छन् ।
बाँकेको कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेलमा रोयलले ओशोनिक क्लबलाई २–० ले पराजित गरेको छ । रोयलका लागि सुमित थापाले खेलको ८औं र ५०औं मिनेटमा गोल गरेका थिए । रोयलका अविशेख यादवलाई प्लेयर अफ द म्याचको पुरस्कार प्रदान गरिएको थियो ।
यस्तै, आजै भएको अर्को खेलमा न्यु डाँफे स्पोर्टस क्लबले जय किसान स्पोर्टस क्लबलाई १–० ले हराएको छ । न्यु डाँफेका लागि विशाल चन्दले निर्णायक गोल गरेका थिए । चन्दलाई नै खेलको प्लेयर अफ द म्याचको पुरस्कार दिइएको थियो ।
असारको १३ गते सम्म चल्ने प्रतियोगिता लिगकम नकआउटको आधारमा भैरहेको छ । प्रतियोगितामा सहभागि क्लबलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब, मिलन युवा स्पोर्टस क्लब रहेका छन् ।
यसैगरी समुह ‘बी’मा न्यु डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगन्ज एफसी र ओसोनिक क्लब रहेका छन् । समुह ‘ए’ र समुह ‘बी’ को विजेता र उप–विजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टिमले बाँके जिल्लाको प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने अवसर पाउनेछ ।
प्रतियोगिता अन्तर्गत सोमबार पहिलो खेलमा मिलन युवा स्पोर्टस क्लब र नव दुर्गा युवा क्लबबिच प्रतिस्पर्धा हुनेछ । त्यस्तै अपरान्ह हुने खेलमा कोहलपुर रेसिङ सहारा क्लब र कारकादो युवा स्पोर्टस क्लबबिच प्रतिस्पर्धा हुने आयोजक बाँके जिल्ला फुटबल संघले जनाएको छ ।