नेपालगञ्ज, ३२ जेठ । बाँकेको कोहलपुरमा भोलि शनिवारदेखि बाँके जिल्लास्तरीय ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शुरु हुदैछ । प्रतियोगिता असार १३ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
कोहलपुरको १३ बिगाह फुटबल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा कोहलपुर रेसिङ सहारा क्लब र नेपालगञ्जको धम्बोझी क्लबबीच प्रतिस्पर्धा हुने आयोजक बाँके जिल्ला फुटबल संघले जनाएको छ । प्रतियोगितामा नौ क्लबले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको कोहलपुरका मेयर पूर्णप्रसाद आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
लिगकम नकआउटको आधारमा हुने प्रतियोगितामा सहभागि क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब रहेका छन् ।
यसैगरी, समूह ‘बी’ मा न्यु डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगन्ज एफसी र ओसोनिक क्लब रहेका छन् । समूह ‘ए’ र समुह ‘बी’ को विजेता र उपविजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
नेपालगञ्ज रंगशालामा सिन्थेटिक ट्रयाक निर्माण भइरहेकाले कोहलपुरमा प्रतियोगिता आयोजना गर्नु परेको आयोजकले बताएको छ । सुरुआतमा नेपालगन्जमा आयोजना गर्ने तयारी भएपनि अन्तिम समयमा आएर कोहलपुरमा प्रतियोगिता गर्नु परेको संघका अध्यक्ष भोजराज शाहीले बताउनु भयो ।
यसअघि बाँके जिल्ला फुटबल संघले कोहलपुरमै जिल्लास्तरीय ‘बी’ डिभिजन नकआउट फुटबल प्रतियोगिता आयोजना गरेको थियो ।