नेपालगञ्ज, २६ जेठ । १४बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ, बाँके शाखाको १४औं साधारणसभा तथा अधिवेशन आज नेपालगञ्जमा सम्पन्न भएको छ ।
साधारणसभामा सचिव कमल डांगीले शाखाको बार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष बिनोद पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन संशोधनसहित सर्वसम्मतरुपमा पारित गरिएको छ ।
साधारणसभा तथा अधिवेशनको बन्दसत्रलाई व्यवस्थित सञ्चालन गर्न महासंघ बाँकेका पूर्व अध्यक्ष नीरज गौतम संयोजक रहेको पाँच सदस्यीय अध्यक्ष मण्डल तथा पत्रकार शंकर खनाल संयोजक रहेको पाँच सदस्यीय प्रस्ताव लेखन समिति गठन गरिएको थियो ।
यसअघि, साधारणसभाको नेपालगञ्जका मेयर प्रशान्त विष्टले उद्घाटन गर्दै सञ्चार माध्यमको प्रवर्द्धनका लागि उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । ‘जिल्लाका सञ्चार माध्यमलाई पालिकाले सधै सहयोग गर्दै आएको र भविष्यमा पनि निरन्तरता दिइने छ’, मेयर विष्टले भन्नुभयो ।
महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको साधारणसभा उद्घाटन समारोहमा महासंघका पूर्व केन्द्रीय सदस्य एवं प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईलगायतले बोल्नुभएको थियो ।
त्यस अवसरमा पत्रकार महासंघ, बाँकेका संस्थापक अध्यक्ष लियाकत अलि पत्रकारिता पुरस्कारवाट महासंघका पूर्व अध्यक्ष नीरज गौतम र शिव डोटेललाई पुरस्कृत गरिएको थियो ।
यसैगरी, पूर्व अध्यक्ष गौतमकी आमा सुशीला गौतमले आप्ना पति सूर्यनाथ गौतमको स्मृतिमा नेपाल पत्रकार महासंघ, बाँके शाखामा स्थापना गर्नुभएको ‘सूर्यनाथ गौतम स्वास्थ्य (मुटु) पत्रकारिता पुरस्कार’ बाट यस वर्ष पत्रकार शंकरप्रसाद खनाल र शोभा केसी पुरस्कृत हुनु भएको छ भने अधिवेशनमा अन्य विभिन्न विधामा झण्डै दुई दर्जनभन्दा बढी पत्रकारहरूलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।