नेपालगञ्ज, २ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालगञ्जका उद्योगी, व्यवसायीका समस्या संसदमा उठान गर्ने बताउनुभएको छ ।
प्रजातान्त्रिक उद्योगी, व्यवसायी संघ, बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको ‘सम्वाद’ कार्यक्रममा महामन्त्री थापाले उद्योगी, व्यवसायीको आर्थिक संकट, लगानीमैत्री वातावरण र पूँजीको अभाव, उत्पादनको बजार व्यवस्थापनमा वर्तमान सरकार गम्भीर हुनसकेको छैन भन्नुभयो ।
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष सञ्जय थापाको अध्यक्षतामा भएको सम्वाद कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु मधु आचार्य, प्रतिमा गौतम, मैकुलाल बाल्मिकी, प्रदेश सभापति अमरसिंह पुन, बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी लगायत उद्योगी व्यवसायीको उपस्थिति रहेको थियो ।
यस्तै, महामन्त्री थापा आजै नेपाली काँग्रेस, बाँके क्षेत्र नम्बर ३ ले खजुरामा आयोजना गरेको संवाद कार्यक्रममा सहभागी हुनुभयो । कार्यक्रममा महामन्त्री थापाले २०८१ साललाई कांग्रेसले पुनर्जागरणको बर्ष बनाउनुपर्ने धारणा राख्नुभयो ।
‘कांग्रेसलाई पुर्नजागृत गर्न शुद्धिकरण र सुदृढीकरण बाहेक अन्य बिकल्प छैन’-महामन्त्री थापाले भन्नुभयो, ‘काँग्रेसले २०८१ सालभरि बालुवाटार र सिंहदरबारतिर आँखा लगाउदैन् ।’
नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर ३ कासभापति नक्की खाँको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका सहमहामन्त्री किशोरसिंह राठौर पनि उपस्थित हुनुहुन्थ्यो ।
महामन्त्री थापाले आजै खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालको अवलोकन गर्नुभयो । त्यसक्रममा उहाँले अस्पतालका विद्यमान समस्याबारे जानकारी लिनुभएको थियो ।