नेपालगञ्ज, २ बैशाख । बाँके जिल्ला प्रहरी कार्यालयका प्रंमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले प्रहरी र पत्रकारबीच व्यवसायिक सम्बन्ध हुनुपर्नेमा जोड दिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले आज आयोजना गरेको परिचयात्मक तथा नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा जिल्ला प्रहरी प्रमुख कार्कीले उक्त कुरा बताउनुभएको हो ।
तीन दिनअघि मात्र बाँकेमा सरुवा भई आउनुभएका जिल्ला प्रहरी प्रमुख कार्कीले अपराध नियन्त्रण, नागरिकमा शान्ति, सुरक्षाको अनुभुति, छिटोछरितो प्रहरी सेवा, कानूनी राज्यको पालनामा आप्नो भूमिका दरो भएर प्रस्तुत हुनेछ भन्नुभयो ।
सोही कार्यक्रममा जिल्ला प्रहरी कार्यलय बाँकेले चालू आर्थिक वर्षको नौ महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । प्रगति विवरण अनुसार, उक्त अवधिमा जघन्य प्रकृतिका ६४ मुद्दामा ५४ वटा मुद्दा फच्र्यौट गरिएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले प्रस्तुत गर्नुभएको प्रगति विवरणमा कर्तव्य ज्यान मुद्दामा ८ मुद्दा दर्ता भएकोमा ६ वटा फच्र्यौट भएको, मानव वेचविखन तथा ओसारपसारमा ९ मुद्दा दर्ता भएकोमा ८ वटा फच्र्यौट भएको, डाँका चोरीमा ५ मुद्दा दर्ता भएकोमा ३ फच्र्यौट भएको उल्लेख छ ।
त्यसैगरी बाँकेमा जबरजस्ती करणीमा ४२ मुद्दा दर्ता भएकोमा ३७ मुद्दा फच्र्यौट भएको साईबर अपराध सम्बन्धी उजुरीमा ९८ वटा मुद्दा दर्ता भएकोमा ७ वटा मुद्दा मात्र फच्र्यौट भएको छ ।
उक्त अवधिमा विभिन्न प्रकृतिका १ हजार ८६ मुद्दा दर्ता भएको प्रगति विवरणमा उल्लेख गरिएको छ ।