नेपालगञ्ज, २२ चैत । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकाका तीन विद्यालयलाई विज्ञान विषयको प्रयोगशाला सामग्री उपलव्ध गराएको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालित ‘बालिका शिक्षा परियोजना’ अन्तरगत विद्यालयलाई विज्ञान विषयको प्रयोगशाला सामग्री उपलव्ध गराइएको हो ।
बिज्ञान प्रयोगशालाका लागि क्लबले माइक्रोस्कोप, स्टेथोस्कोप, मानव शरीर चार्ट, फ्लास्क, परीक्षण ट्यूब र रसायन, वजन मेसिन, मानव कंकाल, फनेल, नाप्ने उपकरण, तताउने उपकरण, पिपेट, बुन्सेन बर्नर, थर्मोमिटर र दुरबिन लगायतका १७८ वटा उपकरण सामग्री उपलव्ध गराएको छ ।
आवश्यकता मूल्याङ्कन प्रतिवेदनका आधारमा, सो विद्यालयमा विज्ञान प्रयोगशालाको सुविधा नहुँदा विद्यार्थीहरू व्यवहारिक ज्ञानबाट बञ्चित भएकाले प्रयोगशाला सामग्री उपलव्ध गराइएको क्लबका प्रमुख सरंक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रयोगात्मक अभ्यासवाट विद्यार्थीको सिकाई उपलब्धि वढाउन विज्ञान प्रयोगशाला सामग्री सहयोग गरिएको हो ।’
क्लबले गुलरिया नगरपालिकाको वडा नम्बर १ मा रहेको त्रिशक्ति मावि कमलपुर, वडा नम्बर २ मा रहेको जानकी माध्यमिक विद्यालय र वडा नम्बर ११ मा रहेको गौरीशंकर माध्यमिक विद्यालयमा करिब रु १८ लाख ७५ हजार मूल्य बराबरको प्रयोगशाला सामग्री उपलव्ध गराएको छ ।
एक समारोहकाबीच गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, उपमेयर सावित्रा गौतम र प्लान नेपालका क्षेत्रीय प्रबन्धक मीना पराजुलीले संयुक्त रुपमा सामग्रीसहितको नयाँ विज्ञान प्रयोगशालाको उद्घाटन गर्नु भयो ।
कार्यक्रममा मेयर यादव, उपमेयर सावित्रा गौतम, प्लान नेपालका क्षेत्रीय प्रबन्धक संयोजक मिना पराजुली, क्लबका अध्यक्ष रवि तुलाधरलगायतले प्रयोगशालाको महत्व र उपादेयताका बारेमा बोल्नुभएको थियो ।