नेपालगञ्ज, १७ चैत । नेपालगञ्जमा १३ वर्षमुनिका ९८ जना छात्रछात्रालाई फुटबल खेलका लागि छनोट गरिएको छ । अखिल नेपाल फुटबल संघको युवा विकास परियोजना अन्तर्गत जिल्ला फुटबल संघले बाँकेभरिवाट २०८१ का लागि खेलाडी छनोट गरेको हो ।
पहिलो चरणको छनोटमा ८९ छात्र र नौ छात्रा गरी ९८ जना खेलाडी छनोट गरिएको संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिनुभयो । अध्यक्ष शाहीका अनुसार, छात्र १८५ र छात्रा ३० गरी कुल २१५ जना सहभागिवाट ९८ खेलाडी छनोटमा परेका हुन् ।
छनोट कार्यक्रममा सहभागिहरुको संख्या धेरै भएपछि संघले भोलि आइतवार एक दिन समय बढाएर थप खेलाडी छनोट गर्ने जनाएको छ । जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरको छनोटमा परेका खेलाडीहरुलाई एन्फा अन्तर्गतका विभिन्न टेक्निकल सेन्टरमा सञ्चालन भएका एकेडेमीमा रहेर फुटबल खेल्ने अवसर प्राप्त हुनेछ ।
खेलाडी छनोटपछि अध्यक्ष शाहीले भन्नुभयो, ‘बालबालिकाको अत्यधिक सहभागिताले बाँके जिल्लामा फुटबलको क्रेज बढेको देखिएको छ ।’ उहाँले भन्नुभयो, यसप्रंकारको छनोटले भविष्यमा राष्ट्रियस्तरको राम्रा खेलाडी उत्पादन गर्न मद्दत पुर्याउछ ।’
२०८०÷१२÷१७