नेपालगञ्ज, १७ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र कार्यकर्ताको आत्मविश्वास बढाउनुपर्ने खाँचो रहेको बताउनुभएको छ ।
समुदायमा कांग्रेस अभियान अन्तर्गत बाँकेको अगैयामा आज शनिवार आयोजित ‘संवाद यात्रा’ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भन्नुभयो, ‘अब कार्यकर्तामा गुम्दै गएको आत्मविश्वास जगाउने गरी पार्टीतहमा काम गर्नुबेला आएको छ ।’
महामन्त्री थापाले अब काँग्रेसले चुनाव एक्लै लड्छ, कसैसंग गठबन्धन गर्दैन भन्नुभयो । उहाँको थप भनाइ थियो—‘गठबन्धन गरेर हामीले हाम्रा मतदाताको आस्थालाई विकृत बनाएका छौं, अब जहाँबाट कमजोरी भयो त्यहीँबाट हिड्नुको विकल्प छैन ।’
नेपाली कांग्रेस क्षेत्र न.. १ बाँकेका सभापति पोषण केसीको सभापतित्वमा भएको संवाद कार्यक्रममा केन्द्रीय सदस्य मधु आचार्य, प्रकाश स्नेही, कांग्रेस बाँकेका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीलगायत नेता कार्यकर्ताको उपस्थिति थियो ।
महामन्त्री थापाले त्यस अघि सिक्टा सिंचाई आयोजनाको अवलोकन गर्नुभएको थियो । त्यस क्रममा आयोजना प्रमुख देवराज निरौलाले सिक्टाको कार्यप्रगति र समस्याबारे महामन्त्री थापालाई जानकारी गराउनुभएको थियो ।
२०८०÷१२÷१७