नेपालगन्ज,१२ चैत । बाँके युनेस्को क्लबको हरित अर्थतन्त्र परियोजना अन्तर्गत बर्दियाको ठाकुरद्धारामा भएको पाँच दिने जीवन उपयोगी सीपविकास तालिम सकिएको छ ।
बर्दियाका युवा महिलाहरूलाई आत्म–जागरूकता, प्रभावकारी सञ्चार कौशल र अन्तरव्यक्तिगत सम्बन्ध, रचनात्मकता तथा सहमति कौशल, निर्णय क्षमता, समस्या समाधान र नेतृत्वमा केन्द्रीत ज्ञान प्रदान गर्नु तालिमको उदेश्य रहेको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
प्रशिक्षक दिनेश चौधरीले सहजीकरण गर्नुभएको तालिममा राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकाका ३० युवतीको सहभागिता रहेको थियो ।
तालिमका सहभागीहरूले बढ्दो प्रदूषण, ग्लोबल वार्मिङ तथा जलवायु परिवर्तनको प्रभावबाट वातावरण संरक्षणमा योगदान पुर्याउन हरित व्यापार र लघु उद्यमको महत्वसहित आत्मरक्षा र यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी महत्वपूर्ण ज्ञान प्राप्त गरेका छन् ।
तालिम समापन समारोहमा क्लबका अध्यक्ष तुलाधर र वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुंगले सहभागिहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रशिक्षार्थी बीनाकुमारी चौधरीको अध्यक्षतामा भएको तालिम समापन समारोहमा क्लबका प्रमुख संरक्षक प्रवेजअलि सिद्दिकी, कार्यकारी निर्देशक साजिदअलि सिद्दिकी, परियोजना अधिकृत राधेकृष्ण थारु र फिल्ड सुपरवाइजरद्धय सञ्जिता रिजाल र कञ्चन दहितको उपस्थिति रहेको थियो ।
बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा हरित अर्थतन्त्र परियोजना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।