नेपालगञ्ज, ५ चैत । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा पहिलोपटक अवेक क्रेनियोटोमी प्रविधिको प्रयोग गरी ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । उक्त अस्पतालमा एक हप्तामा दुई वटा अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको हो ।
अस्पतालले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ का रेखा कश्यप र सुर्खेत बीरेन्द्रनगर नगरपालिका वडा नं. १ सुर्खेतकी दीपा गौतमको सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।
न्यूरोसर्जन डा. मनिष कोलाक्षपति, डा. निरज घिमिरे, डा. सुबोध गौतम, डा. उपमा शर्मा र एनेस्थेसिया विभागका डा. नवीनकुमार रेग्मी, डा.कपिल पोखरेल लगायतको टिमले शल्यक्रिया गरेको हो ।
पश्चिम नेपालमै जटिल खालको शल्यक्रिया सम्भव भएको कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनौडियाले आज सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंको सहकार्यमा मेडिकल कलेजमा न्यूरो साइन्स विभाग सञ्चालनमा भएपछि जटिल खालका शल्यक्रिया हुने गरेका छन् ।