नेपालगञ्ज, ४ चैत । सिक्टा सिँचाइको पानी बाँके जिल्लाको २२ हजार हेक्टर जमिनमा पुर्याइएको छ । कूल ४२ हजार ७६६ हेक्टरमा सिँचाइ पुर्याउने आयोजनाको लक्ष्य रहेको छ । सरकारको आप्नै स्रोतबाट आर्थिक वर्ष २०६२-६३ मा सिक्टा सिँचाइको पछिल्लो निर्माण कार्य सुरु भएको हो ।
आयोजनाका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म पूर्वी मूल नहरतर्फ चार हजार हेक्टर, सिधनिया शाखामा एक हजार हेक्टर र पश्चिमी मूल नहरतर्फ १७ हजार हेक्टर गरी २२ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याइएका आयोजनाको अभिलेखमा उल्लेख गरिएको छ ।
आयोजना सुरु यता हालसम्म भौतिक प्रगति ४० दशमलव २२ प्रतिशत र वित्तिय प्रगति ३९ दशमलव ३८ प्रतिशत रहेको जनाइएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २ को अगैयास्थित राप्ती नदीमा बाँध निर्माण सिँचाइ सुविधा पुर्याउने उद्देश्यले सिक्टा सिँचाई् आयोजनाले काम सुरु गरेको हो । कूल रु ५२ अर्ब ८९ करोड लागत रहेको सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०८९-०९० मा सक्ने लक्ष्य निर्धारण गरिएको छ ।