नेपालगञ्ज, १ चैत । नेपालगञ्जमा आज बिहीवार विश्व मिर्गौला दिवस मनाइएको छ । नेपलागञ्ज उपमहानगरपालिकाको अगुवाईमा उक्त दिवस मनाइएको हो । मिर्गौला रोगको जोखिम बढिरहेकाले नागरिकमा रोगप्रति सचेत रहन विश्वभरि मिर्गौला दिवस मनाउने गरिन्छ ।
दिवसका अवसरमा नेपालगञ्जमा प्रभातफेरी गरिएको थियो । उपमहानगरपालिका परिसरबाट सुरु भएको प्रभातफेरी विभिन्न स्थानको परिक्रमा गर्दै गणेशमान चोकमा पुगेर समापन गरिएको थियो ।
समापन कार्यक्रममा नेपालगञ्ज मेयर प्रशान्त विष्ट र उपमेयर कमरुद्दिन राईले मिर्गौला रोगको जोखिम कम यसबारे अभियान नै चलाउनुपर्नेमा जोड दिनुभयो ।
त्यस अवसरमा भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पवन रायमाझी, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुभाषचन्द्र बोहरा, नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, भेरी अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. सौरभ हमाल लगायतले समेत बोल्नुभएको थियो ।
प्रभागफेरीमा चिकित्सक, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, पत्रकार, कानून व्यवसायी, अधिकारकर्मी तथा सरोकारवाला निकायका पदाधिकारी, प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।