नेपालगञ्ज, २९ फागुन । नेपालगञ्जमा सातौ औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवम् पर्यटन महोत्सव हुने भएको छ । ‘उत्पादन र वस्तु मेरै नेपालको’ नाराका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघ, बाँके शाखा महिला उद्यमी समितिले महोत्सव गर्न लागेको हो । महोत्सव चैत चैत ६ देखि १८ गतेसम्म नेपालगञ्जको वाटरपार्कको खुल्ला मैदानमा हुनेछ ।
आज मंगलवार नेपालगञ्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महासंघ बाँके शाखाका अध्यक्ष मधु खड्काले महोत्सवमा करिब रु दुई करोडको कारोबार हुने अनुमान गरिएको बताउनुभयो । अध्यक्ष खड्काले भन्नुभयो,‘घरेलु स्थानीय स्रोतको सदुपयोग गरी उत्पादन गरिएका वस्तुको बजारमा दिगो पहुँच स्थापित गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरेका छौ ।’

महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहनु भएका अध्यक्ष खड्काका अनुसार, महोत्सवमा बढीमा ३०० स्टल रहने छन् । नवीनतम् प्रविधिजन्य उत्पादनहरु त्था महिला र स्थानीयस्तरमा उत्पादित वस्तुहरु मेला स्टलको प्रमुख आकर्षक रहने छन् ।
झण्डै दुई लाख दर्शक भित्राउने लक्ष्य रहेको महोत्सवमा सांस्कृतिक कार्यक्रमलाई पनि ध्यानमा राखिएको छ । महोत्सवमा नेपालका ख्याती प्राप्त राष्ट्रिय एवम् स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने महासंघका महासचिव आर. के. भुसालले बताउनुभयो ।









