नेपालगञ्ज, २८ फागुन । पालिकास्तरीय कार्यकर्ता प्रशिक्षणलाई निरन्तरता दिदै नेपाली कांग्रेस, बाँकेले आज सोमबार खजुरा गाउँपालिकामा कार्यक्रम गरेको छ ।
यसअघि नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकामा प्रशिक्षण कार्यक्रम गरिएको थियो ।
खजुराको प्रशिक्षण कार्यक्रमको उदघाटन सत्रमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले गाउँगाउँमा पार्टीको संगठन सुदृढीकरण अभियानमा लागिपर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
सभापति पुनले पार्टीको विचारलाई तल्लो तहसम्म प्रभावकारी ढंगले सञ्चार गर्न आवश्यक रहेको बताए । नवीन कांग्रेस निर्माणका लागि नयाँ सोच र उर्जाका साथ गाउँ तहमा केन्द्रित हुन निर्देशन दिँदै उनले युवा पुस्तालाई कांग्रेससंग जोड्न प्रखर ढंगले लाग्नुपर्ने बताए ।
बाँके कांग्रेस सभापति एवम् प्रशिक्षण शाखा प्रमुख गोपालप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यकर्ता प्रशिक्षणमा
नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख भुवन श्रेष्ठले कांग्रेसको इतिहास, आदर्श र सिद्धान्त, प्राध्यापक एवं अधिवक्ता गुणनिधि शर्माले नेपाली कांग्रेस, प्रजातन्त्र र समाजवाद, प्रशिक्षक तिर्थ पौडेलेले जनसरोकारका सवाल, पार्टी संगठन, विकास, योजना, सञ्चार र कार्यसम्पादन तथा पत्रकार शुक्रऋषि चौलागाईले सञ्चार र नेपाली कांग्रेस लगायतका विषयमा प्रशिक्षण दिएको प्रशिक्षण शाखा सचिव उमा थापामगरले जानकारी दिनुभयो ।
पालिकस्तरी कार्यकर्ता प्रशिक्षण अन्तर्गत भोलि बैजनाथ गाउँपालिकामा प्रशिक्षण कार्यक्रम हुने बताइएको छ ।