नेपालगञ्ज, २८ फागुन । आन्तरिक पर्यटकको बसीबियालो र रमाइलो गर्ने थलो रानीतलाउ उद्यानको थप पूर्वाधार निर्माण र सेवा सुविधा विस्तार गर्न लुम्बिनी प्रदेश सरकार पर्यटन डिभिजन कार्यलयले रकम विनियोजन गरी काम सुरु गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा उक्त उद्यानको भौतिक पूर्वाधार निर्माण र सेवा, सुविधा विस्तारका लागि रु ४० लाख बजेट विनियोजन भएको मेयर प्रशान्त विष्टले जानकारी दिनुभयो ।
साढे दुई दशक बन्दको अवस्थावाट पुर्नजीवन पाएको ऐतिहासिक रानीतलाउलाई लुम्बिनी प्रदेश सरकार र नेपालगञ्ज उपमहानगरपालिकाले आप्नो प्राथमिकतामा राखेका छन् । तत्कालिन मेयर डा. धवलशम्शेर राणाले पाँच वर्षअघि जिर्णोद्धार गरी सञ्चालनमा ल्याउनु भएको ऐतिहासिक पृष्ठभूमिको रानीतलाउ उद्यानप्रति अहिलेका मेयर विष्टले पनि उत्तिकै न्याय गर्नुभएको छ ।
नेपालगञ्ज भूगोलको मध्यभागमा अवस्थित यो उद्यानमा मूलतः त्यहा रहेको नौकाबिहारले सबैलाई आकर्षित गरेको छ । उद्यानमा रमणिय बगैचा, बालबालिकाका लागि पिंग, चिप्लेटी, चमेनागृह लगायतको व्यवस्था गरिएका छन् । नेपालगञ्ज वडा नं ८ मा रहेको गोलाकार आकारको रानीतलाउ पर्यटन विकासमा कोशेढुंगा सावित हुँदै गएको छ । पछिल्लो समय रानीतलाउ उद्यानमा भारतीय पर्यटकहरु समेत आउन थालेका छन् ।
रानीतलाउलाई अहिले ठेक्कामा सञ्चालन गरिएको मेयर विष्टले बताउनुभयो । ‘नेपालगञ्ज उपमहानगरपालिकामा जनप्रतिनिधि भएर आएपछि मैले ऐतिहासिक रानीतलाउलाई पर्यटकिय क्षेत्रका रुपमा विस्तार गर्दै लैजान कुनै कसर बाँकी राखेको छैन्’—मेयर विष्टले भन्नुभयो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.