नेपालगञ्ज, २७ फागुन । बाँकेको डुडुवा गाउँपालिकामा औलों रोग पुष्टी भएपछि उच्च सतर्कता अपनाइएको छ । गाउँपालिकाको वार्ड नं.–४ स्थित शाहपुर्वा र मोल्हुपुर्वा गाउँका एक महिला र एक जना पुरुषमा केहीदिन अघि औलों रोग पुष्टी भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो ।
उहाँका अनुसार स्थानीय दुई जनामा औलोको लक्षण देखिएपछि रगतको आरडिटी र माइक्रोस्कोपिक परीक्षण गर्दा औलो रोग पुष्टी भएको हो । दुई जनामा औलो देखिएपछि पालिकाले वडा नं. ४ अन्तर्गतका टोलटोलमा घरधुरी सर्भेक्षण सुरु गरेको छ ।
तीन जनाका दरले चार वटा समुहमा १२ जना स्वास्थ्यकर्मी परिचालन गरि घरधुरी सर्भेक्षणसंगै स्वास्थ्य शिक्षा, परामर्श र जानकारी दिने कार्य भईरहेको स्वास्थ्य शाखा प्रमुख शर्माले बताउनुभयो । स्थानीयलाई ज्वरोलगायतका सामान्य लक्षण देखिने वित्तिकै नजिकको स्वास्थ्य संस्थामा रगतको नमूना परीक्षण गर्न लगाइएको छ । सबै स्वास्थ्य संस्थामा रगत परीक्षण निःशुल्क गरिएको छ ।
तथ्यांक अनुसार, बाँकेको नरैनापुर गाउँपालिकामा औलौका सबैभन्दा बढी विरामी भेटिएका छन । चालु आर्थिक आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि माघसम्म नरैनापुर गाउँपालिकामा ८०, डुडुवामा ५, राप्तीसोनारीमा ५, बैजनाथ गाउँपालिकामा १ र नेपालगन्ज उपमहानगरपालिकामा ५ जनामा औलो रोगका विरामी भेटिएका छन् । कोहलपुर नगरपालिका, जानकी र खजुरा गाउँपालिकामा औलोका विरामी नभेटिएको स्वास्थ्य कार्यालय बाँकेका किटजन्यरोग फोकल पर्सन दुर्गा गौतमले बताउनुभयो ।
उहाँका अनुसार बाँके जिल्ला औलोको उच्च जोखिममा रहेको छ । औलोका विरामी देखिएका पालिकामा विशेष निगरानी गरिएको उहाँले बताउनुभयो । रोग नियन्त्रण तथा व्यवस्थापनका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा स्वास्थ्य कार्यालय र स्थानीय तहको सयुक्त पहलमा किटनाशक झुल वितरण र जनचेतनामुलक कार्यक्रम संचालन भइरहेको छ ।