नेपालगञ्ज, २५ फागुन । महाशिवरात्री पर्व आज शुक्रवार देशभरि धुमधाम तथा हर्षोल्लासपूर्वक मनाइएको छ । बाँकेमा पनि महाशिवरात्री पर्व धुमधामका साथ मनाइएको छ । नेपालगञ्जस्थित बागेश्वरी मन्दिरलगायत बाँकेका विभिन्न शिवालयहरुमा भक्तजनहरुले बिहानैदेखि देवाधिदेव महादेवको श्रद्धा भक्तिपूर्वक पूजाअर्चना गरेका थिए ।
यस्तै नेपालगञ्जस्थित प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय, क्षेत्रीय कार्यालय नेपालगञ्ज आश्रममा शिव ध्वजारोहण तथा स्नेह मिलन कार्यक्रम गरिएको थियो । कार्यक्रममा ठूलो संख्यामा शिव परमात्माका सन्तानहरुको अर्थात भक्तजनहरुको सहभागिता रहेको थियो ।
त्यस अवसरमा परमात्मा शिवपिताको सामूहिक झण्डोत्तोलन, ब्रह्म भोग प्रसाद वितरण, स्कुल, कलेजका विद्यार्थीद्धारा शिवभक्ति नृत्य प्रत्तुत तथा आश्रमकै तर्पवाट बागेश्वरी मन्दिरमा नशायुक्त सम्बन्धि सचेतनामूलक ज्ञान शिविर राखिएको थियो ।
कार्यक्रममा आश्रमका प्रमुख दुर्गा दिदी र मुना बहिनीले शिव परमात्माको अवतरणको दिन महाशिवरात्री पर्व मनाउने गरिएको बताउदै मानव जीवनलाई मर्यादित र सेवामुखी बनाउन परमात्मा प्राप्तिको आध्यात्मिक वाटोमा हिड्नुको विकल्प छैन भन्नुभयो ।
नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामी, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष नीरज गौतम, साहित्यकार डिला शाहलगायले पनि बोल्नुभएको थियो ।