नेपालगञ्ज, २६ फागुन । बाँकेको कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको छैठौं अन्तरमावि उपमेयर यु-१९ छात्रा क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन नमूना माध्यामिक विद्यालय कोहलपुरले जितेको छ ।
आज शनिवार भएको फाइनलमा बालशिक्षा माध्यामिक विद्यालय भरैयालाई १० रनले हराउदै त्रिभुवन माविले उपाधि जितेको हो । उपाधिसँगै त्रिभुवनले नगद २१ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेता बालशिक्षा माविलाई १५ हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको त्रिभुवन नमूना माविले निर्धारित ओभरमा ९ विकेट गुमाएर १११ रन जोड्यो । त्रिभुवनका लागि बिमला बुढाले २६, पासना योञ्जनले १० तथा सुरती बुढाले ९ रनको योगदान गरेका थिए । बालशिक्षाका लागि निर्मला चन्दले तीन विकेट लिए भने सुरक्षा पन्त, लक्ष्मी चन्दले समान दुई-दुर्ई विकेट लिएका थिए । त्यस्तै सम्झना पुन र सिर्जना खड्काले समान एक-एक विकेट छारेका थिए ।
जितका लागि ११२ रनको लक्ष्यसहित मैदान उत्रिएको बालशिक्षा मावि पाँच विकेट गुमाउदै १०१ रनमा समेटिएको थियो । सुरती बुढा, अस्मिता देवकोटा, विमला बुढा र अनुग्रह घर्तिले समान एकएक विकेट हात पार्दै त्रिभुवनले जीत दिलाए । सुरक्षा पुनले नटआउट ३३ रनको पालि खेलेपनि बालशिक्षाको टिमलाई जित दिलाउन सकिनन् । हुमकली वलीले १७ तथा पूर्णिमा डाँगी र निर्मला चन्दले समान ६-६ रन बनाए । प्लेयर अफ द सिरिज बालशिक्षा माविकी सुरक्षा पुन र वेष्ट वलर बालशिक्षाकै सुरक्षा पुन घोषित भइन् भने वेष्ट व्याटरको पुरस्कार त्रिभुवन माविकी विमला बुढालाई प्रदान गरिएको थियो ।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य, उपमेयर संगीता सुवेदी, जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, राखेपका केन्द्रीय सदस्य एलवी क्षेत्री लगायतले मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।