नेपालगञ्ज, २२ फागुन । अठार बुँदे बाँके घोषणापत्र जारी गर्दै कोहलपुरमा आयोजना गरिएको प्रेस सेन्टर नेपालको लुम्बिनी प्रदेशस्तरीय ‘मिडिया सम्मेलन’ आज शुक्रवार सम्पन्न भएको छ । दुई दिनसम्म चलेको उक्त सम्मेलनमा लुम्बिनी प्रदेश अन्तर्गत १२ जिल्लाका २०० बढी पत्रकारहरु सहभागि थिए ।
सम्मेलनद्धारा जारी बाँके घोषणापत्रमा लामोसमयदेखि क्रियाशील नभएका र अन्य पेशामा लागेका जनपक्षिय पत्रकारलाई मूलधारको पत्रकारितामा ल्याउने, स्थानीय निकायलाई प्रेस स्वतन्त्रताप्रति सम्बेदनशील बनाउन, पत्रकारको न्युनतम पारिश्रमिक, सञ्चार माध्यमको दिगो सञ्चालन, पत्रकार आचारसंहिताको पूर्ण पालना, विज्ञापनको न्यायोचित बाँडफाँड विषय समेटिएको छ ।
त्यस्तै, श्रमजिवी पत्रकारको वृत्तिविकास, कोहलपुरमा रहेको नेटिभी र गोरखापत्रको स्तरवृद्धि, बाँके लगायत लुम्बिनी प्रदेश जिल्लाका सबै पर्यटकिय क्षेत्रको उचित संरक्षण तथा सम्मेलन सफल बनाउन सहयोग गर्ने सबैखाले संघसंस्था र व्यक्तिविशेषलाई धन्यवाद ज्ञापनको बुँद्धा सम्मेलनको घोषणापत्रमा राखिएको छ ।
प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णुप्रसाद सापकोटा ‘जुगल’ को प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा सहयोगी संस्था तथा व्यक्तिलाई सम्मान गरिएको सेन्टरका केन्द्रीय सचिव सिराज खानले जानकारी दिनुभयो ।