नेपालगञ्ज, २३ फागुन । बाँकेको डुडुवामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबद्र्धन सम्वन्धी पालिकास्तरिय अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
डुडुवा गाउँपालिकाको समन्वयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले बुधबार आज गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि डुडुवा गाउँपालिका प्रमुख नरेन्द्रकुमार चौधरीले भ्रष्टाचारको समस्या केन्द्रीय तहदेखि नै बढेकाले यसको नियन्त्रणमा तीन वटै सरकारको भुमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भ्रष्टाचार गरेको ठहरिएका दोषीलाई कानून अनुसारको सजायसहित सार्वजनिकरुपमै समाजबाट बाहिष्कार गर्नुपर्ने भन्दै कानून र प्रक्रिया विपरित लोभ लालचमा परेर अनियमित गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्छ भन्नुभयो ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्ज कार्यालयका प्रमुख गणेशबहादुर अधिकारीले आयोगमा आउने उजुरीको प्रकृति अनुसार अनुसन्धान गर्ने गरिएको भन्दै सत्यतथ्य र प्रमाणलाई केलाएर सबै प्रमाण संकलन गरि विशेष अदालतमा मुद्दा दायर गर्ने गरेको बताउनुभयो ।
कार्यक्रममा आयोगका कार्यालय प्रमुख अधिकारी र शाखा अधिकृत नारायण प्रसाद ढकालले अख्तिारको काम कारवाही प्रक्रिया, उजुरी, उजुरीको प्रकृति, छानविन, सजाय, कसुर, जरिवाना, स्थानीय सरकार प्रवाह गर्ने सेवाका क्रममा अपनाउनुपर्ने मापदण्डलगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो, प्रमुख प्रशासकिय अधिकृत दानबहादुर ऐडी, वडाध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, झंकबहादुर थापा, मोहनराम मिश्र, कार्यपालिका सदस्य, जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरु, राजनिति दलका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।