नेपालगञ्ज, २२ फागुन । नेपालगञ्ज वडा नं. २० मा सामुदायिक बहुउद्देश्यीय भवनको निर्माण सम्पन्न भएको छ । मंगलवार आज आयोजित एक कार्यक्रमका बीच मेयर प्रशान्त विष्टले नवनिर्मित भवन सञ्चालनको शुभारम्भ गर्नुभयो ।
महिला–पुरुष, अपांगमैत्री शौचालयसहित १६ कोठा क्षमताको दुई ठूला कोठा र प्रशासनिक, नर्सिङ, स्टोर र १६ उपचार शैया रहेको छ । प्रत्येक शैयामा एक÷एक वटा अक्सिजन सिलिन्डर समेतको व्यवस्था गरिएको छ ।
रु एक करोड ८५ लाखको लागतमा बहुउद्देश्यीय भवन निर्माण गरिएको हो । त्यस्तै भवन सञ्चालका लागि रु दुई करोड बराबरको विभिन्न उपकरण तथा अन्य सामग्री खरीद गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार नवीन गिरीले जानकारी दिनुभयो ।
खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागको मझ्यौला र साना सहरहरुमा खानेपानी, सरसफाई, स्वच्छता र स्वास्थ्य पहलमार्फत कोभिड १९ रोकथाम र नियन्त्रण आयोजनाले निर्माण गरेको सामुदायिक बहुउद्देश्यीय भवन नेपालगञ्ज उपमहानगरपालिकालाई मंगलवार आजै हस्तान्तरण गरिएको छ । आयोजना ब्यवस्थापन कार्यालय प्रमुख रत्नप्रसाद लामिछानेले मेयर विष्टलाई भवन सम्भार र सञ्चालन तथा व्यवस्थापनको लागि स्वामित्वपत्र हस्तान्तरण गर्नुभएको थियो ।
त्यस अवसरमा मेयर विष्टले नेपालगञ्ज उपमहानगरपालिकाले अब आफ्नै स्वामित्वमा रहेको भवनको सञ्चालन र व्यवस्थापनका लागि प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।