नेपालगञ्ज, २२ फागुन । बाँकेको डुडुवा गाउँपालिकाले शिक्षाको विकासमा पछि परेका स्थानीयलाई राष्ट्रिय शिक्षाको मूलप्रवाहमा ल्याउन शिक्षा नीति बनाएको छ । मधेशी समुदायको बाहुल्यता रहेको डुडुवामा शिक्षामा पछि पारिएका मधेशी समुदाय र अन्य नागरिकलाई शैक्षिकस्तर बढाउन लागु गरिएको शिक्षा नीतिको कार्यान्वय पक्ष निकै सकारात्मक भएकाले गतवर्ष नयाँ शिक्षा नीति पालिकाले तर्जुमा गरेको छ ।
शिक्षास्तर मापन गर्न पालिकाभित्र गणना गर्दा पालिकाभित्र नौ हजार घरधुरी निरक्षर रहेको तथ्यांकले देखाएको छ । उक्त तथ्यांकको आधारमा गाउँपालिकाले सबै नागरिकलाई साक्षर बनाउने अभियान अन्तर्गत थप सुधारका साथ शैक्षिक नीति ल्याएको हो ।
मूलतः शैक्षिक नीति अन्तर्गत कन्या मुद्दती शिक्षा योजना, विद्यालय छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक तथा स्यानिटरीप्याड वितरण लगायत कार्यक्रमहरुलाई निरन्तरता दिइएको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीका अनुसार, शिक्षा नीतिले पालिकाका सम्पूर्ण निरक्षरलाई समेट्ने प्रयास गर्नेछ । उहाँले यसको कार्यान्वयनमा पालिकास्तरका सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरुको साथ र सहयोग आवश्यक रहेको छ, भन्नुभयो । अध्यक्ष चौधरीले भन्नुभयो–‘हामीले नयाँ शिक्षा नीतिमा खास गरी विद्यालय जान प्रोत्साहन गर्न छात्राहरुको लागि विभिन्न योजना ल्याएका छौं ।’
उहाँले पालिकाभित्र रहेका निरक्षरहरुलाई साक्षर बनाउन अन्य योजनाहरु समेत शिक्षा नीतिमा समावेश गरिएको जानकारी गराउँदै विशेष गरी एसईईमा उत्र्तिण छात्राहरुले यसबाट प्रोत्साहित भई अगाडिको शिक्षा हासिल गर्न मद्दत पुग्ने बताउनुभयो ।
सोही नीति अनुसार पालिकाले शिक्षा ऐन, शिक्षा नियमावली र त्यसको मापदण्डभित्र रही आधारभूत शिक्षा, अभिभावक शिक्षा, निरन्तर तथा सामुदायिक सिकाई र अनौपचारिक शिक्षामार्फत निरक्षरता उन्मूलनका कार्यक्रमहरु सञ्चालन गर्ने योजना निर्माण गरेको छ । यसका साथै गाउँ शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक समितिको सक्रियता र क्षमता वृद्धि गरी शैक्षिक योजना र नीति कार्यान्वयन र अनुगमन मूल्यांकनमा जोड दिएर गुणस्तरीय शिक्षा पाउने डुडुवाका सबै बालबालिकाहरुको नैसर्गिक अधिकार हो भनेर कार्यान्वयन गरिने डुडुवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख संजयकुमार कर्णले बताउनुभयो ।
प्रमुख कर्णका अनुसार यसपटकको नीतिमा स्थानीय पुस्तकालय, वाचनालय, विज्ञान प्रयोगशाला र सामुदायिक सिकाई केन्द्रको स्थापनामार्फत स्थानीय ज्ञान, सीप र प्रविधिको संरक्षणमा जोड दिईने जानकारी गराउँदै भन्नुभयो– “संस्कृति भाषा, अवधी भाषा र उर्दु भाषाको संरक्षण र सम्वद्र्धनको लागि मातृभाषामा गुरु, शिक्षक, सहजकर्ता नियुक्त गरी मातृभाषाको संरक्षणमा जोड समेत दिईने बताउनुभयो ।”
शिक्षा शाखा प्रमुख कर्णले हाल पालिकाद्वारा सार्वजनिक गरिएको शैक्षिक नीतिमा शिक्षकहरुको क्षमता अभिवृद्धि गर्न विभिन्न तालिम, गोष्ठी, कार्यशाला, बैठक आदिको व्यवस्थापन गरिएको बताउनुभयो । यसका साथै अतिरिक्त क्रियाकलाप, प्राविधिक तथा व्यवसायिक शिक्षा र ट्युसन तथा कोचिङ्ग कक्षामार्फत विद्यार्थीहरुको शिक्षण सिकाईमा अभिवृद्धि गर्दै लैजाने योजना रहेको छ ।
गाउँपालिकाको प्रत्येक वडामा कम्तिमा एउटा माध्यमिक विद्यालय स्थापनाको लक्ष्य रहेको छ भने पालिकामा अध्ययनरत प्राविधिक जनशक्तिको उपयोगका लागि स्वयंसेवक तथा कर्मचारी परिचालन गरी घरघरमा सेवा प्रवाह गरिने जनाइएको छ । यसका साथै गुणस्तरीय शिक्षामा जोड, प्राविधिक र व्यावसायिक विद्यालयको स्थापना, रोजगारीमा बृद्धि, कोभिड भाइरसको महामारीको अवस्थामा सार्वजनिक विद्यालयमा वैकल्पिक तथा दुरशिक्षाका माध्यमबाट सिकाई क्रियाकलाप अगाडी बढाईने छ ।
पालिकाभित्र रहेका बालबालिकाहरुको शिक्षा पाउने अधिकार सुनिश्चितता र बालविवाह न्यूनीकरणको लागि कन्या मुद्दती शिक्षा योजनालाई थप प्रभावकारी बनाई सहभागितामा बृद्धि गरी एसईई उत्तीर्ण भएका पालिकाका सम्पूर्ण छात्राहरुलाई एक÷एक वटा साइकल प्रदान गरिने गाउँपालिकाको योजना रहेको छ ।
डुडुवा गाउँपालिकामा जनप्रतिनिधि चुनिएर आएपछि शैक्षिक संस्थाहरुको तथ्यांकमा समेत बढोत्तरी भएको पाईन्छ । जसअन्तरगत सामुदायिक विद्यालय १६, मदरसा १५, सामुदायिक सिकाई केन्द्र १, गुरुकुल १, संस्थागत विद्यालय ९ र प्रारम्भिक बाल विकास केन्द्र ७२ वटा रहेका छन् ।