नेपालगञ्ज, २१ फागुन । नेपालगञ्ज वडा नं. १० को बाक्लो बस्तीबीचमा रहेको बाँके जिल्ला कारागारमा कैदीबन्दीको सुरक्षा चिन्ता बढेको छ । कारागारमा क्षमताभन्दा झण्डै तेब्बर बढी कैदीबन्दीलाई कोचाकोच गरेर राखिएका कारण उनीहरुको स्वास्थ्य तथा सुरक्षा चिन्ता बढेको हो ।
भेडाब्राखा जस्तै कैदीबन्दीलाई कोचेर राखेपछि उनीहरुमा जटिल स्वास्थ्य समस्या बढदै गएको जेलर अर्जुनजङ्ग शाह बताउनुहुन्छ । क्षमताभन्दा अत्यधिक धेरै कैदीबन्दी राखिएपछि शौच जानेदेखि चुल्होचौकोसम्मको समस्याका कारण उनीहरुको जीवन दुरुह हुँदै गएको छ । कारागाराका कैदीबन्दीहरुका लागि सरकारका तर्पवाट प्रतिदिन जनही नगद ८० रुपैया र २०० ग्राम चामल दिने गरिएको छ । दाल, तरकारी, नूनतेल ८० रुपैयावाटै कैदीबन्दीले किन्नुपर्ने हुन्छ । यसका साथै प्रत्येक वर्ष जाडो र गर्मीमा दुई जोर लगाउने लुगा र दुई-दुई वर्षमा ओढ्ने ओछ्याउने दिने गरिएको छ ।
तीन सय क्षमताको बाँके कारागारमा हाल ९०६ कैदीबन्दी रहेका छन् । कारागारमा अहिले महिला कैदीबन्दी नरहेको जेलर शाहले बताउनुभयो । कैदीबन्दीहरुको आचरण सुधारका लागि विक्रम सम्वत् २००० सालमा स्थापना गरिएको बाँके कारागारको भौतिक अवस्था पनि जिर्ण भइसकेको छ ।
‘हामीको बाँकेको नौवस्तामा बनेको क्षेत्रीय कारागारमा कैदीबन्दीलाई ‘शिप्ट’ गर्न सम्बद्ध निकायसंग माग गरेका छौ’-जेलर शाहले भन्नुभयो, ‘तर, नौवस्ता कारागारको भौतिक पूर्वाधार सम्पन्न भएपनि सञ्चालन प्रक्रिया शुरु नभएकाले कैदीबन्दीहरुलाई ‘शिप्ट’ गर्न केहि समय ढिला हुनसक्ने सम्भावना देखिएको छ ।’
अर्कोतर्प, बाँके जिल्ला कारागारमा खाँदाखाँद गरेर राखिएका कैदीबन्दीको उपचारमा समेत कारागार प्रशासनले आर्थिक समस्या झेल्दै आएको छ । स्वास्थ्य उपचारका लागि छुट्याइएको बजेटले वर्षभरि उपचार खर्च नपुग्ने भएको छ । ‘उपचार खर्च नपुग्ने भएपछि हामीले केन्द्रीय कारागार विभाागसंग थप रकम माग गर्ने गरेका छौ’-जेलर शाहले भन्नुभयो । उहाँका अनुसार, कैदीबन्दीको उपचार नेपालगञ्जको भेरी अस्पतालमा हुने गरेको छ । तर, कुनै कैदीबन्दीले आप्नो खर्चमा अन्य अस्पताल माग गरेमा त्यहा समेत लैजाने व्यवस्था मिलाइएको जेलर शाह बताउनुहुन्छ ।
कारागार प्रशासनले कारागारको चारैतिर बलिया पर्खाल नभएको, कारागार घना बस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदीबन्दी भएकाले सुरक्षामा चुनौती थपिएको बताएको छ । कारागारमा कैदीलाई भेटनका लागि १० बजेदेखि ४ बजेसम्म कारागार खुल्ला रहन्छ । त्यो समयमा कैदीलाई तिनका परिवार र आफन्तले भेट्न सक्छन । कैदीबन्दीलाई भेटन आउनेलाई निगरानीमा राखेर भेट्न दिने गरिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता, आधुनिक सुरक्षा प्रबन्धको अभाव र घनावस्तीको बीचमा कारागार हुनुका कारण कुनैबेला ठूलो जोखिम हुनसक्नेतर्प सम्बद्ध पक्षको ध्यान जान जरुरी भैसकेको छ । स्मरण रहोस्, करिब दुई दशकअघि कैदीबन्दीको उग्र आन्दोलनका कारण प्रहरी कारवाहीमा दुई कैदीबन्दीको ज्यान गएको थियो ।