नेपालगन्ज, २० फागुन । बाँकेमा दर्ता भएका सबै मदरसा राष्ट्रिय शिक्षाको मूलप्रवाहमा आउन सकेका छैनन् । यो जिल्लामा दर्ता भएका १०६ मदरसा मध्ये नेपालगन्ज उपमहानगरपालिकामा ३८ वटा रहेका छन् । दर्ता भएका मदरसाले मात्रै राहत कोटाको अनुदान रकम पाउने गरेका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादवका अनुसार, प्राथमिक विद्यालय तहसम्म रु दुई लाख ४१ हजार, निम्न माध्यमिक तह कक्षा ८ सम्म रु पाँच लाख र माध्यमिक तह कक्षा १० सम्म रु १० लाख अनुदान दिने गरिएको छ । अनुदान रकम शिक्षा विभागले स्थानीय तहमार्पmत दिने गरेको यादव बताउनु हुन्छ । सरकारले खर्च गर्ने रकम र अन्य प्राविधिक व्यवस्थाका वावजुद पनि नेपालमा मदरसा शिक्षाको विकासले ठूलो फड्को मार्न सकेको छैन् ।
मदरसा सम्बन्धि स्पष्ट नीति नबनेकाले यस्तो भएको सरोकारवाला निकायको भनाइ छ । शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख यादवले अनुदान रकम प्राप्त गर्नका लागि मात्र कतिपय मदरसा खोलिएकाले राष्ट्रिय शिक्षाको मूलधारमा ल्याउन थुप्रै चुनौति रहेको बताउनु भयो । तथापी, त्यस्ता मदरसालाई मूलधारमा ल्याउन प्रयास भइरहेको उहाँको भनाई छ ।
सरकारले मदरसालाई राहत शिक्षक, छात्रवृत्ति र पाठ्यक्रम खरीदका लागि राहत अनुदान उपलव्ध गराउदै आएको छ । तर, सञ्चालनमा रहेका अधिकांश मदरसाको भौतिक पूर्वाधार निर्माणमा ठोस योजना र कार्यक्रम नभएकाले विद्यार्थीको पठनपाठन व्यवस्थित र बैज्ञानिक हुन सकेको छैन ।
बाँकेका अधिकांश मदरसामा पर्याप्त भौतिक पूर्वाधार निर्माण नभएकाले एउटै कक्षा कोठामा फरकफरक कक्षा तहका विद्यार्थीलाईसंगै राखेर पढाउनु पर्ने वाध्यता पनि देखिएको छ, मदरसाको आप्नो आयस्रोत खासै छैन । विद्यार्थीवाट उठाएको शुल्कले दिगो रुपमा मदरसालाई धान्न ग्राहो छ । यी कुरालाई सम्बोधन गरिएन भने मदरसाको मूलप्रवाहीकरण कार्यक्रम दिगो हुन नसक्ने चिन्ता पनि व्यक्त गरिएको छ ।
बाँके जिल्लामा संचालित मदरसामा नेपाली, अंग्रेजी, गणित, बिज्ञान, उर्दु र अरबीका बिषयहरु पढाई हुने गरेका छन् । तर, दर्ता भएका मध्ये अधिकांश मदरसा न्यूनतम पूर्वाधार बिना नै सञ्चालित छन् । कतिपय मदरसाहरुमा आवश्यकताभन्दा बढी बिद्यार्थीहरु छन् भने कतिपयमा नाम मात्रका विद्यार्थी छन् । जसले गर्दा शिक्षामा राम्रो योगदान पुर्याएका मदरसा पनि राज्यको सेवा सुबिधाबाट बँञ्चित भएका छन् ।
सरकारले मुस्लिम समुदायका बालबालिकाहरुलाई राष्ट्रिय शिक्षाको मूलप्रवाहीकरणमा ल्याउने नीति लिए बमोजिम नै धार्मिक तथा शैक्षिक संस्थाको रुपमा मदरसा खोल्न सरकारले अनुमति दिदै आएको हो । तर, मापदण्ड पूरा नगरेर खोलिएका मदरसालाई खारेज गर्ने र कारवाही प्रक्रियामा ल्याउन नसक्दा यसको मूलप्रवाहीकरण चुनौतिपूर्ण बन्दै गएको छ ।
अर्कोतर्फ, शिक्षाका नाममा पवित्र कुरानले व्यवस्था गरेको शिक्षा तथा तालिम लिनुपर्ने प्रावधान मूलप्रवाहीकरणको नाममा विथोलिनु हुँदैन भन्नेमा पनि यसका धर्मगुरु तथा मुस्लिम अगुवाहरु अत्यन्त सचेत र संवेदनशील छन् । ‘कुरानले शिक्षा र तालिम लिने व्यवस्था गरेको छ, तर हामी आप्mनो धर्म संस्कृतिमाथि आक्रमण हुने शैक्षिक व्यवस्थालाई मान्न कदापी तयार छैनौ’—मुस्लिम धर्मगुरु एव्म् दारुल उलुम बरकतिया मदरसाका प्राधानाध्यापक मौलाना जियाउल मुस्तफा नूरानीको भनाई छ ।
‘मदरसा भनेकै खासमा मुस्लिम समुदायको अरबी र उर्दु भाषामा अध्ययन र तालिम दिने शैक्षिक संस्था हो । मदरसामा तालिम लिने र अध्ययन गर्नेहरुले मुख्यतयाः हाफिज, मौलबी, मौलाना, अलिमा र फाजिल डिग्राी लिने हो । सरकारले यो कुरा नै नबुझेर सामुदायिक विद्यालय जस्तै मदरसालाई राष्ट्रिय शिक्षाको मूलप्रवाहीकरण गरेकोमा हाम्रो पूर्णरुपमा चित्तबुझेको छैन’—नूरानीको गुनासो छ ।