नेपालगञ्ज, १९ फागुन । लुम्बिनी प्रदेशका भूमि ब्यवस्था तथा कृषिमन्त्री भण्डारीलाल अहिरले लगानीसहित नेपालका युवापुस्ता व्यवसायिक कृषिमा प्रवेश गर्नु सुखद भएको बताउनुभएको छ ।
बाँकेको खजुरा गाउँपालिका—२ ए गाउँमा शनिवार आज आयोजित बृहत व्यवसायिक उखु रोपाई कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री अहिरले मुलुकको आर्थिक विकासका लागि व्यवसायिक कृषिका लागि प्रदेश सरकारले सकेजति लगानी गरिरहेको छ भन्नुभयो ।
एनपिजे एग्रिकल्चर उद्योग प्रालिका लागि अर्गानिक चिनी र गुँड उत्पादन गर्ने उद्देश्यका साथ उखु खेती सुरु गरिएको सञ्चालक साहिल कुरैसीले बताउनुभयो । उक्त उद्योगले उखु खेती गर्ने किसानहरुको उखु खरीद गर्ने प्रक्रिया अन्तर्गत किसानहरुले उखु खेती सुरु गरेका हुन् । खजुरा गाउँपालिका–२ ‘ए’ गाउँका २७ घरधुरीका किसानहरुले साढे १२ विगाहा जग्गामा व्यवसायिक उखु खेती गर्न लागेको बताइएको छ ।
सो उद्योगले जानकी गाउँपालिका–३ इन्द्रपुरमा समेत साढे १२ बिगाहामा उखु खेती गर्ने सञ्चालन कुरैसीले जानकारी दिनुभयो । उहाँका अनुसार, क्रमशः बाँकेको राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा पनि उखु खेती गरिने छ ।
जानकी–३ मा मिल खोलेर अर्गानिक चिनी, भेली र गुँड उत्पादन गर्ने लक्ष्य रहेको सञ्चालक कुरैसीले बताउनुभयो ।