नेपालगञ्ज, १९ फागुन । नेपालगञ्ज सेन्ट जेभियर्स स्कुलको यु–१८ टिम, गुरुकुल इङलिस मिडियम स्कुलको यु–१६ र यु–१२ टिमले मैत्रीपूर्ण खेलमा जित हासिल गरेका छन् ।
शनिबार आज बाँकेको डुडुवा–५ कम्दी स्थित नवदुर्गा युवा क्लबको मैदानमा भएको खेलमा बाँकेको नेपालगञ्ज सेन्ट जेभियर्स स्कुलले गुरुकुललाई ४–० ले पराजित गरेको छ । नेपालगञ्ज सेन्ट जेभियर्सको तर्फबाट आशिष सुनारले २, बिपिन खड्का र मनिष श्रेष्ठले १–१ गोल गरेका थिए ।
यस्तै, नेपालगञ्ज धम्बोझीस्थित एन्फा ग्रासरुट फुटबल ट्रेनिङ सेन्टरमा भएको अर्को खेलमा लम्की कैलालीको गुरुकुल इङलिस मिडियम स्कुलको यु–१६ टिमले नेपालगञ्जको मनकामना इङलिस मिडियम स्कुललाई २–० ले हरायो । गुरुकुलको जितमा हिमान्सु जोशी र देशान्त सुनारले १–१ गोल गरेका थिए ।
यु–१२ तर्प पनि गुरुकुलले मनकामनालाई २–० को नतिजामै हरायो । गुरुकुलको सफलतामा शंकर विक र राघब बोहराले १–१ गोल गरेका थिए ।
बाँके जिल्ला फुटबल संघले आयोजना गरेको मैत्रीपूर्ण खेलमा बाँके र कैलालीको विद्यालयस्तरका च्याम्पियन टिमले प्रतिस्पर्धा गरेका थिए । बाँकेमा गत महिना सम्पन्न मेयर कप अन्तर विद्यालय छात्र फुटबलमा नेपालगञ्ज सेन्ट जेभियर्स च्याम्पियन बनेको थियो । लम्कीको गुरुकुल इङलिस मिडियम स्कुल पनि कैलालीमा मेयर कप फुटबलको उपाधि जितेको टिम हो ।
खेल समापन समारोहमा अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, उपाध्यक्ष निर्मल चन्द, खेल संयोजक दिपेन्द्र घले, नेपालगञ्ज वडा नम्बर १ सदस्य इन्द्र राना लगायतले खेलाडी तथा टिमलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।