नेपालगञ्ज, १६ फागुन । बाँकेको कोहलपुरमा आजवाट छैठौं अन्तर माविस्तरीय उपमेयर यु-१९ छात्रा क्रिकेट प्रतियोगिता सुरुभएको छ ।
नगर खेलकुद विकास समितिको व्यवस्थापन र जिल्ला क्रिकेट संघ बाँकेको प्राविधिक सहयोगमा कोहलपुर नगरपालिकाले प्रतियोगिता आयोजना गरेको हो ।
नौ दिनसम्म चल्ने प्रतियोगितामा बाँकेका १८ विद्यालयको सहभागिता रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिनुभयो ।
उक्त प्रतियोगिताको बाँके क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य किशोरसिंह राठौरले प्रस्तावित कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति र अन्य सेवा, सुविधाका लागि सकेजति सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
त्यस अवसरमा लुम्विनी प्रदेशसभा सदस्य सञ्जुकुमारी थारु, राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा पूर्व राष्ट्रिय एल.बी क्षेत्री, कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदी र प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले महिला क्रिकेट खेलाडी उत्पादनका लागि यो प्रतियोगिता उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा कोहलपुरस्थित विभिन्न राजनीतिक दल, सामाजिक संघ, संस्थाका प्रतिनिधि, संचारकर्मी, खेलकुदकर्मी लगायतको उपस्थिति रहेको थियो ।