नेपालगञ्ज, १४ फागुन । नेपालगञ्जका सडकमा जथाभावी फोहोर फाल्नेमाथि कारवाही थालिएको छ । अहिलेसम्म आधा दर्जन बढी व्यापारिक फर्म, बैंक तथा पसललाई जरीवानासहित कारवाही गरिएको उपमहानगरपालिकाका प्रेस सल्लाहकार नबीन गिरीले जानकारी दिनुभयो । गिरीका अनुसार, सडकमा फोहोर फाल्ने क्रम नरोकिएपछि जरिवाना गर्न थालिएको हो ।
यसै क्रममा आइतबार साँझ ग्लोबल आइएमई बैंक, राही मार्ट, शर्मा प्लास्टिक, ए टु जेड मोबाइल पसल, रोयल कर्णाली मार्ट, राहुल मःम सेन्टर र मयुरिया रेस्टुरेन्ट एण्ड बारले सडकमा जथाभावी फोहोर फालेको भेटिएपछि तीन व्यापारिक फर्महरुलाई जनही रु पाँच हजार तथा पुष्पा इलेक्ट्रिकल्स सप्लायर्सलाई सडकमा २४ घण्टाभन्दा बढी समयदेखि निर्माण सामग्री राखेवापत रु पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ ।
नगर प्रमुख प्रशान्त विष्ट, नगर प्रहरी, नेपालगन्ज उद्योग बाणिज्य संघ, नागरिक समाज, होटेल व्यवसायी संघ लगायत सर्वपक्षीय टोलीले धम्बोझी चोकदेखि गुल्मसम्म सडकको दायाँबायाँ क्षेत्रमा अनुगमन गर्ने क्रममा उक्त जरीवाना गरिएको हो । त्यस क्रममा नगर प्रमुख विष्टले नगर सफा राख्नु सबै नगरबासीको दायित्व भएको भन्दै जथाभावी फोहोर नफाल्न आग्रह गर्नुभएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ अनुसार यस्तो कसुर गर्नेलाई रु पाँच हजार देखि रु. ५० हजारसम्म जरीवाना गर्न सकिन्छ ।