नेपालगञ्ज, १३ फागुन । प्रथम कन्सल्टेन्सी खुल्ला फुटसल प्रतियोगिताको उपाधी मानवी फुटबल क्लब नेपालगञ्जले जितेको छ ।
नेपालगञ्जको आदर्शनगरस्थित बागेश्वरी फुटसल मैदानमा भएको फाइनलमा कोहलपुर–११ लाई एकका बिरुद्ध ६ गोलले पराजित गरी मानवी क्लबले उपाधी जितेको हो । प्रतियोगिता रोयल क्लबले आयोजना गरेको हो ।
उपाधीसंगै मानवीले रु. ३० हजार र उपबिजेता कोहलपुर–११ ले नगद रु. १५ हजार सहित पदक र कप प्राप्त गरेका छन् । खेलमा मानवी क्लबका सन्तोष महतरा उत्कृष्ट खेलाडी घोषित भए ।
त्यस्तै प्रतियोगिता अवधिभर १६ गोल गरेका भूपेन्द्र शाही ठकुरी सर्वाधिक गोलकर्ता भए भने गोकर्ण पुनमगरलाई उत्कृष्ट गोलरक्षकको पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगिता समापन समारोहमा आयोजक रोयल क्लबका अध्यक्ष सूर्यमणि अधिकारी, सबिन घिमिरे, लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य नरेन्द्र थापा, सेफ संस्थाका अभिषेक नेपाली, फुटबलकर्मी जनक केसी, ज्ञानमणि अधिकारीलगायतले विजयी खेलाडी तथा टिमलाई पुरस्कार, प्रमाणपत्र तथा ट्रफी प्रदान गर्नुभएको थियो ।
प्रतियोगितामा २४ फुटबल क्लबको सहभागिता थियो ।