नेपालगञ्ज, १३ फागुन । दादुरा-रुबेलाबिरुद्धको राष्ट्रिय खोप अभियान बाँके जिल्लामा पनि शुभारम्भ गरिएको छ । नेपालगञ्ज वडा नं. ४ सल्यानीबागस्थित कन्या माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी र प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले संयुक्तरुपमा खोप अभियानको शुभारम्भ गर्नुभयो । समन्वय समितिका प्रमुख चौधरी र प्रजिअ पोखरेलले उक्त वडाका अध्यक्ष गोपाल पुन र नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दलाई खोप सामग्री हस्तान्तरण गरेर अभियानको शुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रममा प्रजिअ पोखरेल, स्वास्थ्य कार्यालय, बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख चन्दलगायतका वक्ताहरुले बाँकेमा खोप अभियानलाई शतप्रतिशत सफल बनाउन मूलतः अभिभावक पनि जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य कार्यालय, बाँकेका निमित्त प्रमुख श्रेष्ठका अनुसार, अभियान अन्तर्गत बाँकेमा नौ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा-रुबेलालगायत अन्य छुटेका खोप समेत लगाइने छ । त्यस्तै ५ वर्षदेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा-रुबेलाको खोप मात्र लगाइने छ । खोप अभियान फागुन २५ गतेसम्म सञ्चालन हुनेछ । २५ गतेसम्म पनि खोप लगाउन छुटेकालाई फागनु ३० गतेसम्म घरदैलोमै पुगेर खोप लगाइने श्रेष्ठले बताउनुभयो ।
स्वास्थ्य कार्यालयले उपलव्ध गराएको विवरण अनुसार, बाँकेमा करिब १ लाख ६५ हजार ५५६ बालबालिकालाई खोप लगाउने लक्ष्य निर्धारण गरिएको छ । ‘हामी ९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउछौ’—श्रेष्ठले भन्नुभयो, ‘खोप लगाइने कुल संख्या मध्ये ९ महिनादेखि ५ वर्ष मुनिका ४८ हजार ८०१ जना र ५ वर्षदेखि १५ वर्षमुनिका १ लाख १६ हजार ७६५ जना बालबालिकालाई रहेका छन् ।’
जिल्लामा खोप लगाइने कुल संख्या मध्ये नेपालगञ्ज उपमहानगरपालिकामा ४२ हजार २७०, कोहलपुर नगरपालिकामा २५ हजार ७१३, राप्तीसोनारी गाउँपालिकामा १८ हजार ६६१, जानकी गाउँपालिकामा १८ हजार १४९, डुडुवा गाउँपालिकामा १३ हजार ७५५, बैजनाथ गाउँपालिकामा १९ हजार २२३ र नरैनापुर गाउँपालिकामा १३ हजार ७७६ बालबालिकालाई खोप लगाउने लक्ष्य निर्धारण गरिएको छ ।
खोप लगाउन जिल्लाभरि १ हजार २९६ जना स्वास्थ्यकर्मी र १ हजार २७३ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ भने सबै विद्यालय र ८१ वटैमा खोप केन्द्र राखिएको छ ।