नेपालगञ्ज, १३ फागुन । नेपालगञ्ज—४ कि आरती थापा(नाम परिवर्तन) ले बाँकेको सीमापारी भारतीय बजार रुपैडिहावाट रु ३ हजारको विभिन्न थरीका सामान ल्याउदा भंसार तिर्नु परेन । आरती जस्ता सयौ उपभोक्ताले दिनहँु रुपैडिहा बजारवाट घरायसी र व्यक्तिगत प्रयोजनका सामान भंसार नतिरेरै ल्याउने गर्छन । यही कुराले नेपालगन्जमा व्यापारीहरुलाई सधै चिमोटने गर्छ । भंसार तिर्न नपरेपछि रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भिड त्यहाका व्यापारीका लागि थेगी नसक्नु हुन्छ भने नेपालगन्जका व्यापारी पसलमा ग्राहक पर्खि बस्नुपर्ने विडम्बनापूर्ण स्थिति छ ।
रुपैडिहा बजारको आकर्षकले चाँड पर्वका बेला नेपाली उपभोक्ताहरुलाई झन बढी तान्ने गर्दछ । नेपालगन्जभन्दा रुपैडिहामा सामान सस्तो पाइन्छ भन्ने आम उपभोक्ताहरुको बुझाई रहेको पाइन्छ । नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल बैश्य भन्नुहुन्छ—‘यो नै गलत बुझाई हो । बहुराष्ट्रिय कम्पनीका सामान रुपैडिहाभन्दा नेपालगन्जमा सस्तो पाइन्छ, भारतीय उत्पादन पनि हामीले थोकमा ल्याएर यहा विक्री गर्दा रुपैडिहाभन्दा यही सस्तो पर्न जान्छ । तर बर्षौदेखि सीमापारी सस्तो पाइन्छ भन्ने आमउपभोक्ताहरुको सोच परिवर्तन हुन सकेन् ।’
तीन वर्षअघि नेपालगञ्ज भन्सार कार्यालयले रु एक हजार बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने उर्दी गरेपछि बीचमा केही समय रुपैडिहा जानेको संख्यामा कमी आएको थियो । यो निर्णय दीर्घकालीन हुन नसक्दा अहिले फेरी रुपैडिहा जाने नेपाली उपभोक्ताको संख्या ह्वात्तै बढेको छ । चर्को घाम, समयको बर्बादी, रिक्सा, टाँगा र माइक्रोबसमा काँेचिएर, कष्टम र एसएसबीको हेपाई सहेर किन नेपालीहरु रुपैडिहामा सामान लिन जान्छन् ? उपभोक्ता भन्छन,–‘ नेपालगञ्जभन्दा रुपैडिहामा सामान सस्तो पाइन्छ र भंसार पनि तिर्नु पर्दैन । ’
घरको करेसाबारीलाई बाँझो राखेर खुर्सानी, लसुन, बेसारसम्म किन्न रुपैडिहा जानेको भीडले गर्दा भारतीय व्यापारीहरु मालामाल भइरहेका छन् । रुपैडिहामा दैनिक कति नेपाली किनमेलमा जान्छन् भन्ने यकिन तथ्यांक नभएपनि त्यहाँ दैनिक ६ करोड बढीको कारोबार हुने नेपालगञ्ज उद्योग बाणिज्य संघको अनुसन्धानले बताएको छ । अझ चाडपर्वका बेला त यो संख्या र रकम दोब्बर हुने आँकलन गरिएको छ ।
नेपालगञ्ज बजार सुक्ने र रुपैडिहा चम्किने गतिविधि अहिलेको नयाँ भने होइन । मानिसहरुको दिमागमा रुपैडिहामा सस्तो पाइन्छ भन्ने छाप बसेकाले पनि यस्तो भइरहेको र यो भ्रमलाई उद्योग बाणिज्य ब्यापार संघ वा नेपाली व्यवसायीहरुले चिर्न नसकेका कारण सीमापारी जानेको भीड कम हुन नसकेको सम्बद्ध क्षेत्रका जानकारको बुझाइ छ । भंसार नियममा रु १०० भन्दा बढीको सामान ल्याउने जो कोहीले पनि भंसार तिर्नुपर्छ । तर यो नियम व्यवहारिक हुन सकेको छैन । नेपालगञ्जका व्यापारीहरु भन्छन—‘नियमलाई कडाईका साथ पालन गर्नु प¥यो ।’ भंसार कार्यालय भन्छ—‘हामीले नियमलाई कडाईका साथ पालना गराउने प्रयत्न गरेका छौ ।’
नेपालञ्जका व्यापारी र भंसारबीचको यो शीतयुद्द नयाँ भने होइन । दशकौदेखि यही युद्द दुवै पक्षबीच चलिरहेको छ । नेपालगञ्ज उद्योग बाणिज्य संघले पनि यो विषय धेरै पटक सल्टाउन खोज्यौ तर नतिजा ‘हात लाग्यो शून्य’ छ । ‘दिनहँु हाम्रै आँखा अगाडी सयौ उपभोक्ताहरु भंसार नतिरेरै सामान ल्याउछन् । भंसार कार्यालयले शून्य सहनशीलतामा काम गर्नुपर्छ, यही कुरा हामीले बारम्बार भन्दै आएका छौ’—संघका पूर्व अध्यक्ष बैश्यको भनाइ छ ।