नेपालगञ्ज, ११ फागुन । नेपालगञ्ज उपमहानगरपालिकाको ‘नगर आमसञ्चार नीति २०७८’ माथि शुक्रवार छलफल गरिएको छ । उपमहानगरपालिका कार्यालयमा मेयर प्रशान्त विष्ट र उपमेयर कमरुद्धिन राइको उपस्थितिमा भएको छलफलमा नेपालगञ्जलाई कार्यक्षेत्र बनाई क्रियाशिल मिडिया हाउसका पत्रकारबीच छलफल भएको थियो । छलफल कार्यक्रममा उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, प्रेस सल्लाहकार नवीन गिरी पनि उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा सहभागि पत्रकारहरुले नगर आमसञ्चार नीति २०७८ माथि व्यापक छलफल हुनुपर्ने र सुझावका आधारमा नीती कार्यान्वयन हुनुपर्नेमा जोड दिए । विज्ञापनको मापदण्ड तोकिनुपर्ने, मिडिया हाउसको संस्थागत विकासमा ध्यान दिनुपर्ने, स्थानीय पत्रकारहरुलाई प्रोत्साहन हुने कार्यक्रम सञ्चालन गरिनुपर्ने, उपमहानगरपालिकामा सञ्चार शाखा स्थापना गर्नुपर्ने लगायतका सुझाव दिएका छन् ।
त्यस अवसरमा मेयर विष्टले आमसञ्चार नीति संशोधन गर्नुपर्ने वा नपर्ने विषयमा २१ दिनभित्र सुझाव दिन पत्रकारहरुलाई समय दिइएको बताउनुभयो । उहाँले भन्नुभयो—‘सुझावकै आधारमा सञ्चार नीतिमाथि सुधार गरि ठोस कार्यान्वयनको दिशामा हामी अघि बढ्नेछौ ।’
कार्यक्रममा उपमेयर कमरुद्धिन राइले नेपालगञ्जमा दुःख पाएका पत्रकारको जीवन सहज बनाउने बुँदा सञ्चार नीतिमा समेट्नुपर्नेमा जोड दिनुभयो ।
छलफलमा नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष दामोदर भण्डारी, नेपाल प्रेस युनियनका बरिष्ठ केन्द्रीय उपाध्यक्ष प्रेम केसी, जिल्ला अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी, बाँँकेका अध्यक्ष दुर्गा रोकाया, पत्रकारहरु झलक गैरे, नीरज गौतम, कमल खत्री, शंकार खनाल, शुक्रऋषि चौलागाईलगायतको सहभागिता रहेको थियो ।