नेपालगञ्ज, ५ फागुन । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्लाई नौ विकेटले पराजित गरेको छ । यो जितसंगै नेपालले दुई अंक जोडेको छ ।
प्रतियोगिताको पहिलो खेलमा नामिबियासँग भने नेपाल चार विकेटले पराजित भएको थियो । टस जितेर नेपालले नेदरल्याण्ड्सलाई ब्याटिङ्गको निम्तो दिएको थियो । ५० ओभरको खेलमा नेदरल्याण्ड्सले ३९ ओभरमा सबै विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो । नेदरल्याण्ड्सलाई सस्तोमा समेट्न कुशल भुर्तेलले चार र ललित राजवंशीले दुई विकेट लिएका थिए । कप्तान रोहित पौडेल र सोमपाल कामीले एक÷एक विकेट लिए । दुई ब्याट्सम्यान रनआउट भएका थिए ।
नेदरल्याण्ड्सका कप्तान स्टक एड्वार्डसले सर्वाधिक ३३ रन बनाए भने साइब्राण्ड एंगलब्रेक्टले २३ र बास डे लिडेले २७ रनको योगदान दिए ।
१३८ रनकोे चुनौतिको सामना गर्न मैदान छिरेको नेपालले १५.२ ओभरमा एक विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपालका लागि कुशल भुर्तेलले २८ रन तथा आशिफ शेख र अनिल साहले अर्धशतकीय पारी खेलेका थिए । आशिफले ५४ रन र साहले ५७ रनको योगदान दिए । नेदरल्याण्ड्सका भिभिआन किङ्माले एक विकेट लिएका थिए ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.