नेपालगञ्ज, ३ फागुन । सुशील कोइरालाई मेमोरियल यु—१९ महिला राष्ट्रिय टी—२० क्रिकेटको उपाधि सुदुरपश्चिम प्रदेशले जितेको छ ।
बाँकेको कोहलपुरमा आज भएको फाइनल खेलमा सुदुरपश्चिमले कोहलपुर नगरपालिकालाई दुई विकेटले हराउदै उपाधि जितेको हो । पहिले व्याटिङ्ग गरेको कोहलपुरले १०२ रन बनाएको थियो । जितका लागि १०३ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको सुदुरपश्चिमले एक बल बाँकी छदै आठ विकेटको क्षतिमा रोमाञ्चक जित निकालेको थियो ।
उपाधि जितका साथ सुदुरपश्चिमले नगद रु एक लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता कोहलपुर नगरपालिकालाई नगद रु ५० हजार प्रदान गरिएको छ ।
फाइनल खेलको म्यान अफ दि प्लेयरको पुरस्कार सुदुरपश्चिमकी मनिषा बोहराले प्राप्त गरेकी छन् । उनले ६.५ ओभरमा सर्वाधिक ४१ रन बनाएकि हुन् ।
त्यस अवसरमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, कोहलपुरका मेयर पूर्णप्रसाद आचार्य, उपमेयर संगिता सुवेदी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यद्धय एलबी क्षेत्री र दिपेन्द्र विष्ट, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य नरेन्द्र थापा, बाँके जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष चेतकान्त भट्टराई, नेपाल पत्रकार महासंघ बाँके उपाध्यक्ष संगिन शर्मालगायतले खेलाडी, रेफ्री, अफिसियल तथा सहयोगी संस्था तथा व्यक्तिहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
नेपाल क्रिकेट संघको सहकार्य तथा प्राविधिक सहयोग र कोहलपुर नगर खेलकुद विकास समितिको व्यवस्थापनमा कोहलपुर नगरपालिकाले प्रतियोगिता आयोजना गरेको हो ।