नेपालगञ्ज, २८ पुस । नेपालगञ्ज उपमहानगरपालिकाको १४औं नगरसभा अधिवेशनले संचालित कार्यक्रमको अर्धबार्षिक प्रगतिको समिक्षा गरेको छ । नगरसभामा मेयर प्रशान्त विष्टले प्रस्तुत गर्नुभएको उपमहानगरपालिकाको चालू आर्थिक बर्षको स्वीकृत योजना, कार्यक्रम र बजेट सर्वसम्मत पारित भएका छन् ।
आज भएको नगरसभामा नेपालगञ्जका सबै २३ वटै वडाका अध्यक्ष र सदस्य, नगर कार्यपालिका सदस्य र शाखा तथा महाशाखाका प्रमुख एवम् कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
नगरसभामा उपलव्ध गराइएको तथ्यांकमा उपमहानगरपालिकाले चालू आर्थिक बर्षको हालसम्म ५४ प्रतिशत राजश्व संकलन गरेको छ । तथ्यांक अनुसार, उपनगरपालिकाको आन्तरिक राजश्वतर्फ रु १९ करोड अनुमानित आय रहेको छ भने हालसम्म १० करोड २७ लाख ४१ हजार रुपैयाँ संकलन भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले चालू आर्थिक बर्षमा चालूतर्फ ३२ दशमलव ७ प्रतिशत, पूँजीगततर्फ १३ दशमलव ४२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४३ दशमलव ८१ प्रतिशत वित्तीय प्रगति भएको तथ्यांकमा उल्लेख गरिएको छ ।