नेपालगञ्ज, ५ मंंसिर । जाजरकोट र रुकुमपश्चिमको भूकम्पमा परी घाइते भएका मध्ये ५२ जना निको भइ घर फर्केका छन् ।
उनीहरुको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गरिएको थियो । अस्पतालमा अब ४ जनाको उपचार भइरहेको सूचना अधिकारी डा. संकेत रिसालले जानकारी दिनुभयो । जाजरकोट र रुकुमपश्चिममा गत कात्तिक १७ गते राति भूकम्प गएको थियो ।
डा. रिसालका अनुसार, भूकम्पमा परी घाइते भएका मध्ये ६० जनालाई भेरी अस्पतालमा ल्याइएको थियो । जसमध्ये अहिलेसम्म ५२ निको भएका छन् भने १ जनाको मृत्यु र ३ जनालाई थप उपचारका लागि अन्यत्र रिफल गरिएको थियो ।
अहिले भेरी अस्पतालको अर्थोपेडिक वार्डमा ४ जना जनाको उपचार भइरहेको जनाइएको छ ।
यसैबीच, नेकपा एमाले बाँकेले २० जनाको स्वयंसेवक टोली भूकम्प प्रभावित रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा पठाएको छ । पुनःनिर्माण सहयोगार्थ सो नगरपालिकामा स्वयंसेवक पठाइएको एमाले बाँके अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । उहाँका अनुसार, जिल्ला कमिटी सचिवालय सदस्य राम थापाको नेतृत्वमा स्वयंसेवक टोली सो क्षेत्रमा पठाइएको छ ।