नेपालगन्ज, १८ कात्तिक । नेपालगन्जमा यही कात्तिक २४ गते ‘रक अन फेस्टिवल सेलिबे्रर्सन विईथ सुनिलसिंह ठकुरी’ कन्र्सट हुने भएको छ । कन्सर्टको सबै आम्दानी जाजरकोट र पश्चिम रुकुममा गएको भुकम्पबाट प्रभावित भएका परिवारलाई सहयोग गरिने जनाइएको छ ।
नेपालगञ्जकै दैनिक पत्रिका कालपृष्ठको आयोजनामा हुने कन्र्सटमा पप गायक सुनिलसिंह ठकुरीलगायत स्थानीय कलाकारको प्रस्तुती रहने पत्रिकाका प्रकाशक कमल खत्रीले जानकारी दिनुभयो ।
यसअघि कन्र्सटवाट भएको आम्दाी आम्दानी दृष्टिविहिन बालबालिकालाई सहयोग गर्ने तय भएकोमा शुक्रबार राती जाजरकोट र पश्चिम रुकुममा भूकम्पवाट प्रभावित नागरिकका लागि सहयोग गरिने भएको छ । स्थानीय प्रशासनको अनुमति र समन्वयमा भूकम्प प्रभावितलाई सहयोग गरिने खत्रीले बताउनुभयो ।
आगामी कात्तिक २४ गते नेपालगञ्जको रामलीला मैदानमा हुने कन्र्सटमा स्थानीय म्युजिक ब्यान्ड आवाज द ब्यान्ड र स्थानीय कलाकारको एकल तथा सामूहिक नृत्य प्रस्तुती रहनेछ ।
गायक तथा संगीतकार ठकुरीका हालसम्म दुई दर्जन भन्दा बढी गीत सार्वजनिक भएका छन् । उहाँ हाल जापानमा बस्दै आउनुभएको छ । पहिलो एल्बम ‘क्रेजी ह्याट’ मार्फत गायन क्षेत्रमा प्रवेश गर्नुभएका ठकुरीको पहिलो एल्बम ‘भुली भुली देउ’ गीत १०औं इमेज अर्वाडको नयाँ गायक विधाको मनोनयनमा पर्न सफल भएको थियो । ठकुरीले गाएका गीत मध्ये ‘घटना घट्यो’, ‘जनता जान्न चाहन्छन’, ‘१४ अञ्चल’, ‘म मान्छे बिन्दास’, ‘बेबी सुन न’ चर्चित बनेका छन । गायक ठकुरीले जापानमा गाएको ‘नागोया नागोया आउन बेबी नागोया’ चर्चित बनेको थियो । उक्त गीतमार्फत जापानको धार्मिक, सांस्कृतिक र सामाजिक पक्षको प्रचारप्रसारमा योगदान गरेको भन्दैं जापानी सरकार र जापानी सरकारी टेलिभिजन एनएचकेले ठकुरीलाई नगद सहित पुरस्कृत गरेको थियो ।