नेपालगञ्ज, १६ कात्तिक । कैद मिनाहामा छुटेका योगराज ढकाल ‘रिगल’लाई प्रहरीले पक्राउ गरेको छ । कैद मिनाहा दिने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेसँगै प्रहरीले ‘रिगल’लाई पक्राउ गरेको हो । सर्वोच्चको आदेशपछि रिगललाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास बोहराले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतले आज ढकालको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो । रिगलले ११ वर्ष ११ महिना ११ दिन कैद भुक्तान गर्न बाँकी रहेको छ । नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २०७२ असार २८ गते चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगलले कैद भुक्तान गरिरहेका थिए । तर, संविधान दिवसको अवसरमा सरकारले रिगलको बाँकी कैद माफी दिएर उनलाई रिहा गरेको थियो । रिगल गत भदौ ४ गते कारागारमुक्त भएका थिए । यता, रिगल छुटेसंगै चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले सरकारको निर्णयविरुद्ध अनशन समेत बस्नु भएको थियो ।
रिगललाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.