नेपालगञ्ज, २६ बैशाख । बागेश्वरी असल शासन क्लब (बास) ले आज यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा नागारिक गुनासो संकलन कार्यक्रम गरेको छ । बासका कार्यकारी निर्देशक नमस्कार शाहले ५० जना सेवाग्राहीको गुनासो संकलन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार, बासका स्वयंम्सेवकहरुले सेवाग्राहीहरुको गुनासो संकलन गरेका थिए ।
संकलित गुनासोमा सेवाग्राहीको असन्तुष्टि धेरै देखिएको छ । सेवाग्राहीहरु यातायात व्यवस्था कार्यालयको सेवा प्रवाहवाट सन्तुष्ट छैनन् । सेवाग्राहीहरु मध्ये ४० प्रतिशतले सेवा लिँदा स्पष्ट जानकारी नपाएको्, ३२ प्रतिशतले स्पष्ट सूचना पाएको र २८ प्रतिशतले ठिकै जानकारी पाएको अभिमत दिएका छन् ।
यसैगरी सेवा प्रदायक कर्मचारीले तपाईंको आवश्यकता र अपेक्षा कति बुझे जस्तो लाग्यो ? भन्ने प्रश्नमा ठिकै भन्नेमा ५२ प्रतिशत, थोरै भन्नेमा ३२ प्रतिशत र अति धेरै भन्नेमा १६ प्रतिशत रहेका छन् । यस्तै, ४ प्रतिशत सेवाग्राहीले कर्मचारीहरुबाट अभद्र, अमर्यादित व्यवहार भएको बताएका छन्, ६८ प्रतिशतले ठिकै व्यवहार भएको बताएका छन् भने र २८ प्रतिशतले मिलनसार, मैत्रीपूर्ण व्यवहार भएको बताएका छन् ।
यसैगरी, सेवा प्राप्त गर्न आवश्यक सूचना, शुल्क, दस्तुर बारे सेवा प्रदायक कर्मचारीले स्पष्ट पारे कि पारेनन् भन्ने प्रश्नमा ३२ प्रतिशतले अति स्पष्ट गरेको बताएका छन् भने ४८ प्रतिशतले ठिकै, २० प्रतिशतले अलमल हुने गरि सूचना दिएको बताएका छन् ।
तपाईंले राखेका समस्याहरुको समाधान दिए कि दिएनन् भन्न् प्रश्नमा अति सजिलै तरिकाबाट समाधान दिए भन्नेमा १६ प्रतिशत, ठिकै भन्नेमा ७० प्रतिशत रहेका छन् भने १४ प्रतिशत सेवाग्राहीहरुले समाधान दिन नसकेको बताएका छन् । सेवा प्राप्त गर्न अपनाइएका प्रक्रिया के कस्तो लाग्यो ? भन्ने प्रश्नमा अति सजिलो भन्नेमा १६ प्रतिशत, ठिकै भन्नेमा ५४ प्रतिशत र लामो झन्झटिलो भन्नेमा ३० प्रतिशत रहेका छन् ।
गुनासो संकलन कार्यक्रममा सेवाग्राहीहरुले कर्मचारीको ब्यवहारमा सुधार ल्याउनुपर्ने, सेवाग्राहीहरु बस्ने ठाउँको व्यवस्था हुनुपर्ने, बढी काम हुने फाँटमा धेरै कर्मचारीहरु खटाउनु पर्ने, चिसो खानेपानीको ब्यवस्था हुनुपर्ने, रकम तिरेको बिल दिने ब्यवस्था हुनुपर्ने, यातायात कार्यालय सबैलाई सहज हुने स्थानमा हुनुपर्ने, टोकन सिस्टम हुनुपर्ने सुझाव दिएका छन् । यस्तै, शौचालयको राम्रो ब्यवस्था नभएको, जथाभावी पैंसाको बार्गिनिङ्ग हुने गरेको, पार्किङ्ग अव्यवस्थित रहेको, बिभिन्न बहानामा सेवाग्राहीलाई स्टेशनरी लगायतका सामग्री माग गर्ने गरेको सेवाग्राहीहरुकोा गुनासो रहेको छ ।
बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्की नेतृत्वका सहजकर्ता रमिता शाह, कार्यक्रम सहायक अशोक रावल, असल शासन मिडियाकी बजार प्रतिनिधि जानकी बिक, इन्टर्न मीना घर्ती, नानीमाया जैसी, निशु बिश्वकर्मा, स्वयंम्सेवक प्रेम नेपाली र बासुदेव उपाध्यायलगायतको टोलीले सेवाग्राहीहरुको गुनासो संकलन गरेका थिए ।