नेपालगञ्ज २४ बैशाख । नेपालगञ्जको त्रिभुवनचोकमा आज धेरै मानिसहरु एकैसाथ हाँसेका छन् । नेपालगञ्जीया अगुवाहरु कुरो न कन्थोसंग त्रिभुवनचोकमा यसरी हाँसेका हुन् । उनीहरु यसरी हास्दा छेउछाउका मानिसहरु अचम्मित भएका थिए । पछि, कुरो बुभ्mदै जादा स्थानीयहरुले थाहा पाए आज अन्तर्राष्ट्रिय हाँसो दिवस भएकाले नेपालगञ्जका सामाजिक अगुवाहरु सामुहिकरुपमा हाँसेका रहेछन् ।
सामूहिक हाँसोको कार्यक्रम नेपालगन्ज हास्य क्लब र सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले आयोजना गरेको थियो । कार्यक्रममा चुटकिला, कहानी, टुक्का उखानलगायतका हास्यप्रधान सामग्री सुनाइएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी, कृष्णमुरारी प्रसाद भट्ट, हाँसो क्लबका अध्यक्ष डा. छत्रपाल अग्रवाल, पतञ्जली योग समितिका हरजित सिंह सरदार, योग समितिका नेपालका अध्यक्ष गुरु डा. गिरीराजशर्मा, नेपालगन्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष कन्हैयालाल टण्डन, अवधी सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष विष्णुलाल कुमाललगायतको सहभागिता रहेको थियो ।