नेपालगञ्ज, १४ साउन । बाँकेको खजुरा र जानकी गाउँपालिका तथा कोहलपुर नगरपालिकाका विपन्न परिवारका तीन जना किसानहरुले पावर टिलर (सानो ट्याक्टर) पाएका छन् । कतार च्यारेटीको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले किसानहरुलाई कृषि उत्पादन वृद्धिका लागि पावर टिलर उपलव्ध गराएको हो । कतार च्यारेटीको आर्थिक सहयोगमा क्लबले बाँकेका विपन्न र गरिबहरुका लागि उत्पादनमूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
सोही कार्यक्रम अन्तर्गत साना पावर टिलर उपलव्ध गराइएको हो । आज आयोजित कार्यक्रमका बीच युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरात र खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तूफानले सयुक्त रुपमा किसानलाई पावर टिलर प्रदान गर्नुभयो ।
त्यस अवसरमा अध्यक्ष तूफानले साना र विपन्न किसानका लागि यस्ताखाले सहयोग कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेजअलि सिद्दिकी, अध्यक्ष रवि तुलाधरलगायतले बोल्नु भएको थियो ।