नेपालगञ्ज, २ साउन । कोरोना संक्रमण फेरी बढ्न थालेको छ । एक सातादेखि कोरोना संक्रमण बढ्न थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको अवस्थाले यसको पुष्टि गरेको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा एक जनाको ज्यान समेत गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज कुल ४ हजार ६ सय ५१ जनाको कोरोना परीक्षण गर्दा ४ सय ५७ जनामा सक्रमण पुष्टि भएको हो । योसँगै देशभर एक हजार ७ सय ७६ जना सक्रिय संक्रमित रहेका छन् ।
यसैबीच, बाँके लगायत देशका २७ जिल्लाका पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाकालाई कोरोना विरुद्धको खोप लगाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, गत असार ९ गतेदेखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई आजदेखि दोस्रो मात्रा लगाउन थालिएको हो ।
खोप लगाउन विद्यालयमा खोप केन्द्र स्थापना गरिएको छ । बालबालिकालाई कोरोनाविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाइने खोप अधिकृत नरेश श्रेष्ठले बताउनुभयो । दोस्रो मात्रा खोप लगाउन पहिलो मात्रा लगाएको खोप कार्ड अनिवार्य गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पहिलो मात्रा खोप २१ लाख बालबालिकालाई लगाइएको थियो । खोपको प्रभावकारिता ९१ प्रतिशत सुरक्षित रहेकाले सबै बालबालिकालाई खोप लगाउन अभिभावकलाई आग्रह गर्नुभयो ।