बाँकेको राप्ती नदीमा पानीको सतह घट्दै गएको छ । गएराति दुई बजेपछि पानीको सतह खतराको चिन्हभन्दा माथि पुगेको थियो । नदीमा पानीको सतह ५ मिटर ४० सेन्टीमिटर पुगेपछि खतराको सतह मान्छि । आज मध्यरातमा नदीको सतह ५ मिटर ६२१ सेन्टिमिटर पुगेको थियो ।
बाँके जिल्ला आपतकालिन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार, राप्ती नदीमा पानीको सतह घटने क्रममा रहेको छ । ‘तथापी, खतरा टरेपछि नदी तटीय क्षेत्रका बासिन्दाको जोखिम भने कम भएको छैन्’—ज्ञवालीको भनाई छ । राप्तीनदीमा पानीको सतह खतराको चिन्हभन्दा माथि पुग्यो भने डुडुवा गाउँपालिकाको होलिया, चौफेरी, बेतहनी, कम्दी र राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुर लगायत क्षेत्र डुबानमा पर्ने गर्दछन् ।
राप्ती नदी किनारमा रहेको कुसुमस्थित बाढी मापन केन्द्रले नदीले खतराको चिन्ह पार गरेमा साइरन बजाएर स्थानीयलाई सचेत बनाउने गरेको छ । भारतले अन्तर्राष्ट्रिय नियम विपरित बाँकेको सीमा क्षेत्र नजिक लक्ष्मणपुर बाँध र तटबन्ध बनाएपछि राप्तीनदीको पानीले स्वभाविक निकास नपाउदा पानीको सतह बढने र बाढी तथा डुबानको नियती नदी तटीय क्षेत्रमा नागरिकले प्रत्येक वर्ष वर्षातको समयमा भोग्नु परिरहेको छ ।