नेपालगन्ज, १ असोज । बडादशैका अवसरमा यसवर्ष नेपालगन्जमा रामलीला हुने निश्चित भएको छ । दशैका अवसरमा १५८ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको रामलीला गत वर्ष प्रतिकूल परिस्थितिका कारण हुनसकेको थिएन, तर रावण दहन भने गरिएको थियो ।
यस वर्ष १५९औँ शृंखलाको रामलीला यस वर्ष असोज २५ गते घटस्थापनाका दिनदेखि सुरु हुने भएको छ ।
शोभायात्रासहित रामलीलाको विधिवत् शुभारम्भ गर्ने तयारी गरिएको रामलीला सञ्चालक समितिले जनाएको छ । रामलीला सञ्चालक समितिको बुधबार सम्पन्न साधारणसभाले यस वर्षको रामलीला मञ्चनलाई भव्य र व्यवस्थित बनाउने लगायतका विभिन्न निर्णय गरेको छ । त्यसका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ ।
समितिका अनुसार यस वर्ष भारतको वृन्दावनबाट राधा रमणको नेतृत्वमा कलाकार टोली ल्याएर रामलीला मञ्चन गरिनेछ । प्रतिकूल परिस्थितिका बाबजुद नेपालगन्जको पहिचान, संस्कृति र अस्तित्वसँग रामलीला मञ्चन जोडिएकाले यसको निरन्तरताका लागि पहल गरिएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले बताउनुभयो ।
रामलीलामा भगवान् राम र सीताको जीवनीसँग सम्बन्धित विभिन्न कथालाई नाटकीय शैलीमा प्रस्तुत गर्ने गरिन्छ । अध्यक्ष कनोडियाका अनुसार हरेक दिन साँझ ८ बजेदेखि राति १२ बजेसम्म रामलीला मञ्चन हुनेछ ।







