मधुवन (बर्दिया), १२ असोज । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्ड सम्बन्धी पाँचदिने प्रशिक्षक प्रशिक्षण बर्दियाको मधुवन नगरपालिका–१, पत्थरबोजीमा सुरु भएको छ। बाँके युनेस्को क्लब , राधाकृष्ण थारु जनसेवा केन्द्र तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित उक्त तालिममा बर्दिया जिल्लाका तीन स्थानीय तहका २१ जना युवा स्वयंसेवकसहित साझेदार संस्थाका प्रतिनिधिहरू गरी जम्मा ३० जनाको सहभागिता रहेको छ।
तालिमको मुख्य उद्देश्य युवाहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्दै सार्वजनिक सेवा प्रवाहको अनुगमन तथा मूल्याङ्कन, नागरिक सहभागिता र समुदायस्तरमा सामाजिक जवाफदेहिता प्रवर्द्धन गर्नु हो। युवाहरूलाई सेवा प्रदायक निकाय तथा स्थानीय सरकारसँग रचनात्मक संवाद र सहकार्य गर्न सक्षम बनाउँदै सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता, उत्तरदायित्व र जवाफदेहिता अभिवृद्धि गर्नु यस पहलको प्रमुख लक्ष्य रहेको छ।
तालिमको उद्घाटन सत्रमा सुरक्षित भविष्य परियोजनाका परियोजना संयोजक गोविन्दप्रसाद लामिछानेले युवा नागरिक स्कोर कार्डको अवधारणा, महत्त्व तथा कार्यान्वयन प्रक्रियाबारे प्रकाश पार्नुभयो। उहाँले यस पद्धतिले नागरिकलाई सार्वजनिक सेवाको गुणस्तर मूल्याङ्कन गर्न, सेवा प्रवाहमा रहेका कमीकमजोरी पहिचान गर्न तथा सेवाग्राही र सेवा प्रदायकबीचको सम्बन्ध सुदृढ बनाउन सहयोग पुर्याउने बताउनुभयो।
त्यसैगरी, प्लान इन्टरनेशनल नेपालका विशेषज्ञ झलकमान विश्वकर्माले सुरक्षित भविष्य परियोजनाका प्रमुख उद्देश्य तथा बालबालिका, किशोरकिशोरी र युवाहरूको अधिकार संरक्षण, बालविवाह तथा कम उमेरमा हुने र जबर्जस्ती गरिने विवाह न्यूनीकरण एवं गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि भइरहेका प्रयासहरूबारे जानकारी गराउनुभयो।
हेन्डस नेपालका युवा सशक्तीकरण परियोजना संयोजक रोशन तिमिल्सिनाद्वारा सहजीकरण भइरहेको तालिममा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यासलाई प्राथमिकता दिइएको छ। सहभागीहरूले तथ्याङ्क सङ्कलन तथा विश्लेषण, सार्वजनिक सेवा गुणस्तर मूल्याङ्कन, सामुदायिक परामर्श, समूहगत छलफल, सार्वजनिक सेवासम्बन्धी मापदण्डको पहिचान तथा प्रमाणमा आधारित सुझाव तयार गर्ने सीप सिक्नेछन्। साथै, नागरिक र सेवा प्रदायकबीच रचनात्मक संवाद सहजीकरण गर्ने तथा पहिचान गरिएका समस्या समाधानका लागि कार्ययोजना निर्माण गर्ने विषयमा समेत अभ्यास गरिनेछ।
यस पहलले युवाहरूलाई विकासका लाभग्राहीका रूपमा मात्र नभई सक्रिय नागरिक, परिवर्तनका संवाहक तथा जवाफदेही समाज निर्माणका साझेदारका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। युवा नेतृत्व, नागरिक सहभागिता र प्रमाणमा आधारित पैरवीलाई सुदृढ गर्दै समुदायका वास्तविक आवश्यकता सम्बोधन गर्ने स्थानीय योजना, बजेट तथा कार्यक्रम निर्माण प्रक्रियामा युवाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न यस पद्धतिले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
तालिम सम्पन्न भएपछि युवा स्वयंसेवकहरूले सिकेका ज्ञान तथा सीपलाई आ–आफ्नो समुदायमा प्रयोग गर्दै सार्वजनिक सेवा प्रवाहको मूल्याङ्कन गर्ने, समस्या तथा चुनौतीहरू पहिचान गर्ने, सम्बन्धित निकायलाई प्रमाणमा आधारित सुझाव दिने र सेवा सुधारका लागि संवाद तथा सहकार्य सहजीकरण गर्ने अपेक्षा गरिएको छ। यसबाट नागरिक र स्थानीय सरकारबीचको सहकार्य सुदृढ हुनुका साथै सार्वजनिक सेवाको गुणस्तर सुधार, संस्थागत जवाफदेहिता र दिगो सामुदायिक विकासमा योगदान पुग्ने विश्वास गरिएको छ।
सुरक्षित भविष्य परियोजना प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लब (BUC) र राधाकृष्ण थारु जनसेवा केन्द्र (RKJS) को साझेदारीमा सञ्चालन भइरहेको छ। स्थानीय सरकार, विद्यालय, समुदाय, युवा समूह तथा अन्य सरोकारवालासँगको सहकार्यमा परियोजनाले बालविवाह तथा कम उमेरमा हुने र जबर्जस्ती गरिने विवाह न्यूनीकरण, बाल संरक्षण सुदृढीकरण, गुणस्तरीय शिक्षा प्रवर्द्धन तथा किशोरकिशोरी र युवाहरूको सशक्तीकरणमार्फत सुरक्षित, समावेशी र जवाफदेही समुदाय निर्माणमा योगदान पुर्याउँदै आएको छ।
सशक्त युवा, सचेत नागरिक र जवाफदेही संस्थाहरू दिगो विकास तथा दीर्घकालीन सामाजिक परिवर्तनका बलिया आधार हुन्। युवाहरूको सक्रिय सहभागिता, नेतृत्व र सामूहिक प्रयासबाट मात्रै उत्तरदायी शासन प्रणाली र समुन्नत समाज निर्माणको लक्ष्य हासिल गर्न सकिन्छ।






