नेपालगञ्ज, १६ साउन । सुनसरी र सिराहामा भएका पछिल्ला घटनापछि देशभर शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले बाँकेको नेपालगञ्जमा शनिबार विहान सद्भाव र्याली निकालिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेको संयोजनमा आयोजित र्यालीमा राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, उद्योगी–व्यवसायी, धार्मिक अगुवा, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले जिल्लामा शान्ति, सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज बिहान वीपी चोकबाट वीरेन्द्र चोकसम्म र्याली निकालिएको थियो । सहभागीहरूले समाजमा शान्तिपूर्ण वातावरण कायम राख्न सबै पक्ष जिम्मेवार र संयमित बन्नुपर्नेमा जोड दिनुभएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सुनसरी र सिराहामा भएका घटनापछि समाजमा सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्यले र्याली आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले कुनै पनि घटना वा अफवाहका आधारमा सामाजिक सद्भाव खलबलिने गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गर्दै सत्यतथ्य सूचना मात्र विश्वास गर्न अनुरोध गर्नुभयो ।
उनले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै बाँके जिल्लामा आपसी सद्भाव र सहिष्णुताको वातावरणलाई थप सुदृढ बनाउन सबै पक्षको सकारात्मक भूमिका अपेक्षित रहेको बताउनुभयो ।






