नेपालगन्ज, २३ असार । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा मनसुन पूर्व तयारी तथा व्यवस्थापन गोष्ठी आज नेपालगन्जमा सम्पन्न भएको छ । गोष्ठीमा विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि स्वयंसेवक परिचालन, सर्वेक्षण, राहत सामग्री व्यवस्थापन, सूचना आदानप्रदान र स्थानीय तहसंगको निरन्तर समन्वय जस्ता विषयमा जानकारी गराइएको थियो ।
यसैगरी, नेपाल रेडक्रस सोसाइटी बाँके अन्तर्गतका पालिका शाखा र उपशाखाहरुले पालना गर्नुपर्ने वैधानिक दायित्व, काम कर्तव्य तथा अधिकार र दृश्यात्मक एकता सम्बन्धमा जानकारी गराइएको थियो । उक्त गोष्ठीमा विषयगत समितिका संयोजक, रेडक्रसको पालिका शाखा र उपशाखाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
रेडक्रस बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा भएको कार्यक्रममा शाखा मन्त्री अजीजअहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, उपमन्त्री तथा संगठन तथा क्षमता विकास समितिका संयोजक तेजबहादुर सुवेदी, उपनिर्देशक दोलखबहादुर डाँगी लगायतले विषयबस्तु बारे प्रकाश पार्नुभएको थियो । गोष्ठीको सहजीकरण रेडक्रस बाँके शाखाका बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल, कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा र लेखा अधिकृत झविलाल शर्माले गर्नुभएको थियो ।
मनसुन सक्रिय हुनासाथ हरेक वर्ष रेडक्रस जिल्ला शाखाले आफ्ना मातहतका निकायहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिदै आएको छ ।






