खजुरा, ७ फागुन ।खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालयको भवन व्यवस्थापनमा नेपाली कांग्रेसले पहल गर्ने नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले बताउनु भएको छ ।
आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनु भएका पुनले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई यस क्षेत्रकै गौरवको आयोजनाको रुपमा व्यवस्थापन गर्न आफु प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले भन्नु भयो,‘विशेष गरी बाँके र बर्दियाका जनतालाई गर्व महसुस गराउने उद्देश्यले लुम्बिनी प्राविधिक विश्वविद्यालय खजुरामा संचालन गर्ने तत्कालिन प्रदेश सरकारले निर्णय गरेको थियो । त्यसमा हामी सबैले पहल गरेका थियौं । अब प्राविधिक विश्वविद्यालयको भवन व्यवस्थापनको समस्या समाधान गरेर खजुरामै पठनपाठन सुरु गर्न पहल गछौं ।’
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ८ मा प्रदेश सरकारले लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । तर आवश्यक पुर्वाधार अभावका कारण
प्राविधिक विश्व विद्यालयलाई यस क्षेत्रकै जनताको जीवनस्तर उकास्ने योजनाको रुपमा व्यवस्थापन गर्नु पर्ने पुनले बताउनु भयो ।
पुनले भन्नु भयो, ‘प्राविधिलाई समृद्धिको साधन बनाउने हाम्रो लक्ष्य हो । प्रविधिको विकासको लागि नेपाली कांग्रेसले युवाहरुको भावनालाई समेटेर आफनो निति र योजना बनाएर काम गरिरहेको छ । प्राविधिक शिक्षालाई समृद्धिसँग जोडेर युवालाई रोजगारी सृजना गर्न कांग्रेसले नयाँ निति बनाएर काम गर्नेछ ।’
लुम्बिनी प्रदेशको गौरवको योजनाको रुपमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा व्यवस्थापनको समस्यालाई समाधान गर्न आफुले मुख्य एजेन्डा बनाएर काम गर्ने पुनले प्रतिवद्धता जनाउनु भएको छ ।
लुम्विनी प्राविधिक विश्वविद्यालयको जग्गामा बसोबास गर्ने बासिन्दालाई उचित बसोबासको व्यवस्थासहित भवन निर्माण र खजुरामै कक्षा संचालनमा सहयोग गर्ने पुनले बताउनु भयो ।
अहिले लुम्बिनी प्राविधिक विश्वविद्यालयले भाडाको भवनबाटै आफनो शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको छ । भाडा वापत विश्वविद्यालयले वार्षिक ४८ लाख भन्दाबढी रकम खर्च गर्ने गरेको छ । बाँकेको खजुरामा विश्व विद्यालय स्थापना गरेर शैक्षिक कार्यक्रमहरु संचालनको लागि प्रदेश सरकारले निर्णय गरेको थियो ।
२०७९ पुष २२ गतेको निर्णयबाट बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालयको कार्यालय स्थापना गरेर कार्यक्रम संचालन गर्ने कार्यको सुरुआत गरिएको थियो । तर स्थायी भवनको अभावको कारण विश्वविद्यालयले मासिक रुपमा भाडा तिरेर नेपालगन्ज स्थित कृषि विकास बैंकको कार्यालयको भवनबाट पठन–पाठन संचालन गरिरहेको छ ।
विश्वविद्यालयले नेपालगन्ज धम्बोझीस्थित कृषि विकास बैंकको क्षेत्रीय कार्यालयको भवन पाँच वर्षको लागि भाडामा लिने सम्झौता गरेको छ । मासिक भाडावापत ३ लाख ५० हजार रुपैयाँ विश्वविद्यालयले तिरिरहेको छ ।







