नेपालगन्ज, ७ फागुन ।नेपालगन्जमा पुस्तकालयको मन्चमा बसेर बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका उम्मेदवाहरुले एजेण्डामाथि बहस गरेका छन् । एउटै मन्चमा बसेर पाँचजना उम्मेदवारहरुले एजेण्डामाथि बहस गरेका हुन् ।
नेपालगन्जस्थित महेन्द्र पुस्तकालयको सामाजिक सरोकार उपसमितिको आयोजना र जुमा स्पोर्ट्स क्लबको सहकार्यमा आयोजित एजेण्डा बहस कार्यक्रममा उम्मेदवारहरु नेकपा एमालेका मो. इश्तियाक राई, कांग्रेसका सुधांशु कोइराला, नेपाली कम्युनिष्ट पार्टीका दिपेन्द्र बिस्ट, राप्रपाका ऋषिराज देवकोटा र स्वतन्त्र उम्मेदवार शौभाग्यजंग शाह सहभागी थिए । उक्त कार्यक्रममा सहभागी उम्मेदवारहरुलाई विभिन्न ६ वटा प्रश्नहरुमा समान समय दिएर बोल्न लगाइएको थियो भने सहभागी दर्शकहरुबाट आएका प्रश्नका उत्तर पनि मागिएको थियो । ती प्रश्नमाथि बोल्दै उम्मेदवारहरुले आफ्ना एजेण्डामाथि प्रष्टिकरण दिएका थिए ।
उम्मेदवारहरुले बाँके क्षेत्र नम्बर २ को मुख्य समस्याको रुपमा डुडुवाको डुबान र कटानका साथै, सडक पूर्वाधार विकास, स्वाथ्यका पूर्वाधार विकासमा ध्यान दिने आफ्नो योजना रहेको बताएका छन् । उम्मेदवारहरुका एजेण्डाहरुमा प्रायः समानता रहेपनि उनीहरुले त्यसको कार्यान्वयनको स्पष्ट खाका दिन नसकेको सहभागीहरुले बताएका थिए । दर्शकदीर्घाबाट साँसदहरुले गर्ने काम र कार्यकारीले गर्ने कामको फरक छुट्याउनुपर्नेदेखि लिएर नेपालगन्जमा जमिनमुनिको पानीको सतह घट्दै गएको सम्मका समस्यामाथि प्रश्नहरु आएका थिए ।
कार्यक्रममा बोल्दै एमालेका उम्मेदवार राईले आफूले आफ्नो चुनावी घोषणापत्रमा बाँके क्षेत्र नम्बर २ का क्षेत्रगत योजनाहरुको फेहरिस्त प्रस्तुत गरेको र ती सबै योजनाहरु आफू साँसद भएमा पूरा गर्ने दाबी गरे । उनले आफूले यसअघि सरकारमा मन्त्रीको रुपमा संगालेको अनुभव र जनप्रतिनिधिका रुपमा काम गरेको अनुभवका आधारमा ती योजनाको कार्यान्वयन गर्नसक्ने बताए । राईले कृषकहरुलाई समयमै मलखाद उपलब्ध गराउने, डुडुवा र राप्तीनदीको तटबन्धन, भेरी अस्पतालको स्तरवृद्धि, सामुदायिक विद्यालयको स्तरोन्नति, महेन्द्र बहुमुखिको स्तरोन्नति र रोजगारीको समस्या समाधान गर्न आफूले पहल लिने बताए ।

नेपाली कांग्रेसका कोइरालाले आफू पूर्वप्रधानमन्त्री स्वर्गीय सुशिल कोइरलाको बिरासत बोकेको व्यक्ति भएको बताउँदै जनपक्षीय काम गर्ने र सदाचारयुक्त काम गर्ने दाबी गरे । उनले बाँके क्षेत्र नम्बर २ मा कांग्रेसको पालामा धेरै विकास योजना सुरु भएकोमा अहिलेपनि आफूले काम गर्ने बताए । उनले नेपालगन्ज रिङरोड, डुडुवा क्षेत्रलाई डुबान र कटानमुक्त बनाउन आफ्नो पहल हुने बताए । कृषकहरुलाई समयमै मल दिने, नेपालगन्जमा ट्राफिक व्यवस्थापन सुधार, ग्रामीण र सहरी क्षेत्रलाई कसरी जोड्ने भन्ने विषयमा आफूले काम गर्ने कोइरालाले बताए । यसैगरी स्वास्थ्य, शिक्षा र युवा रोजगारीको विषयमा पनि संसदमा आफूले जोडदार आवाज उठाउने उनले उल्लेख गरे ।
नेकपाका दीपेन्द्र बिस्टले यसअघि निर्वाचित भएर गएका जनप्रतिनिधिहरुले बाँके क्षेत्र नम्बर २ मा उल्लेखनीय काम गर्न नसकेको र छिमेकी जिल्लाको तुलनामा बाँके पछाडि परेको बताए । बिस्टले योजना समयमै सम्पन्न गर्ने, युवाहरुलाई रोजगारीमा जोड्ने काममा आफूले प्राथमिकता दिने दाबी गरे । सुशासन र भ्रष्टाचारलाई प्रमुख एजेण्डा बनाएको बताएका बिस्टले बाँके क्षेत्र नम्बर २ का ग्रामीणदेखि सहरी क्षेत्रको व्यवस्थापनसम्मका योजनाहरु आफूले तयार गरेको बताए । उनले आफ्नो आइटी सेवामा अनुभव रहेकोले बाँकेमा पनि त्यस अनुभवलाई लिएर प्रविधिमैत्री सेवा प्रदान गर्ने र आइटी हबको योजना बनाएको उनले बताए ।
राप्रपाका देवकोटाले सनातन संस्कृतिको रक्षा, राजसंस्थाको व्यवस्था र सुशासनका लागि आफ्नो उम्मेदवारी रहेको बताए । उनले नगरभित्र ट्राफिक व्यवस्थापन र विकासका योजना, डुडुवामा कटान नियन्त्रणका लागि तटबन्धनको योजना आफ्नो रहेको बताए । डुडुवाको डुबान र कटानको समस्या समाधान गर्न राष्ट्रियस्तरकै परियाृजना आवश्यक रहेको देवकोटाको भनाइ थियो । उनले राप्रपाले भ्रयटाचार नगर्ने नीति लिएको बताउँदै आफू सुशासनका कटिबद्ध रहेको दाबी गरेका थिए ।
स्वतन्त्र उम्मेदवार शाहले यसअघि पटक–पटक जितेर गएका जनप्रतिनिधिहरुले काम नगर्ने, भ्रष्टाचारलाई प्रश्रय दिने काम गरेकोले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए । उनले नेपालगन्जका मुख्य समस्याहरुबारे आफूले सँसदमा दह्रो ढंगले आवाज उठाउनसक्ने दाबी गरे ।
पुस्तकालयको सामाजिक सरोकार उपसमितिका संयोजक नरेन्द्रजंग पिटरले पुस्तकालयलाई सामाजिक विषयमा बौद्धिक विमर्शको केन्द्र बनाउन अभियान सुरु गरिएको र त्यसको पहिलो अंकमा समसामयिक विषयमा एजेण्डा बहस गरिएको बताए । बहसले लोकतान्त्रिक संस्कारलाई सघाउ पुर्याउने बताउँदै उनले आगामी दिनमा निरन्तरुपमा थप अरु विषयमा पनि बहस तथा छलफलहरु पुस्तकालयले सन्चालन गर्ने बताएका छन् ।








